आयोगले सोध्यो पोखरा महानगरका मेयरलाई स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो ।

आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिएका थिए ।

‘तपाईंको अभिव्यक्तिहरु नगर प्रमुख जस्तो जिम्मेवार जनप्रतिनिधिलाई सार्वजनिक मञ्चमा बोल्न असान्दर्भिक र अशोभनीय देखिन्छन् ?’ निर्वाचन आयोगले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंलाई निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ, छैन ? मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ?’

दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा मतपत्रको डिजाइन भएको र २०७४ सालदेखिको अभ्यास यसपालि समेत प्रयोग गरेको भन्दै निर्वाचन आयोगले मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी विरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस्