बैंक सञ्चालकलाई पक्राउ गर्न अदालतको आदेश, दिपेन्द्रकुमार यादव फरार 



काठमाडौं : सहयोगी विकास बैंक जनकपुर शाखाका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादवलाई धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । 

सदस्य यादवले बैंकमा राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो ।

एकजना सेवाग्राहीले बैंकमा धितो राखेको जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर भएको लामो समयपछि जालसाजी तथा ठगी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले अभियुक्त यादवलाई समात्नका लागि पक्राउ पुर्जी जारी गरेको हो । 

जनकपुरधाम उपमहानगरपालिका १० बस्ने लालबाबु रौनियार करिब ८ वर्ष महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा जनकपुरधामस्थित सहयोगी विकास बैंकमा धितो राखेर ५० लाख रुपैयाँ ऋण लिएका थिए ।

ही वर्षभित्रै सो ऋण चुक्ता गरी पीडित लालबाबु रौनियारले सो जग्गा फिर्ता लिन बैंकलाई ७३ लाख रुपैयाँ भुक्तानी गर्दा समेत उक्त जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्षअघि बैंकका सञ्चालक यादवमाथि मुद्दा दायर गरेका थियो । यता पीडित रौनियारको बर्दिवासस्थित ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा बेचिएको थिए । पीडित रौनियारले पटक–पटक बैंकमा गएर जग्गा फिर्ता गरिदिन आग्रह गर्दा समेत बैंकले बेवास्ता गर्दै आलटाल गरेपछि उनले अदालतमा मुद्दा दिएका थिए ।

पीडित लालबाबुले मुद्दा दायर गरेको लामो समयपछि अदालतले यादवरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तर, उनले आफुले अहिलेसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । प्रहरीले सञ्चालक यादवको घरमा छापा मारेपनि उनलाई पक्राउ गर्न सकेको छैन । अभियुक्त यादव फरार रहेको प्रहरीले जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्