श्रीलंकाले माग्यो भारतसँग ५० करोड अमेरिकी डलर ऋण



एजेन्सी । श्रीलंकाले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलव्ध गराउन भारतसँग अनुरोध गरेको छ ।

रकम प्राप्तिका लागि श्रीलंका सरकारले भारतसँग वार्ता गरिरहेको छ । भारतका लागि श्रीलंकाका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए ।

यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम हो । अतिरिक्त ऋणका लागि श्रीलंकाकाली उच्चायुक्तले वार्ता गरेका थिए । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ ।

आर्थिक मन्दीले पिरोलिएको टापुराष्ट्र कोभिड–१९ महामारीका कारण थप प्रभावित भयो भने महामारीको समयमा पर्यटन उद्योग सञ्चालन नहुँदा विदेशी मुद्राको सञ्चिति सकिएसँगै ऋण सहायताका निम्ति छिमेकी भारतलाई गुहार्नु परेको हो ।

विदेशी मुद्राको अभावमा देशलाई पर्याप्त इन्धन किन्न असमर्थ मात्र बनाएन सर्वसाधारणलाई खाना पकाउने ग्यास, खाद्यान्न र अन्य आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परेको छ ।

प्रतिक्रिया दिनुहोस्