नेपाल बुधबार राति जोर्डनविरुद्ध खेल्दै



काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले बुधबार राति जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन ।

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

युवा खेलाडीसहित कुवेत पुगेका मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध दबाब रहित खेल्ने दाबी गरेका छन । किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुगले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्