विजय युथ र सिमराको खेल वर्षाका कारण स्थगित



हेटौंडा । झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ। बुधबार मकवानपुरको विजय यूथ क्लव र नव जनजागृति क्लव सिमराको खेल तय भएको थियो।

दिउँसो भएको बर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो। यसअघि शनिबार पनि एपिएफ क्लव र फ्रेण्ड्सको खेल स्थगित भएको थियो। बुधबारको खेल बिहीबार बिहान साढे ८ बजे खेलाउने सहमति भएको छ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ वटा टिमको सहभागिता छ।

जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्