पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, २२ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ। दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट भ्यान खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो।

बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो। सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ। तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण भ्यान अनियन्त्रित भएर पहाडको खोंचमा खसेको थियो । दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् । पुराना सडक, कमजोर संरचनालगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्