विद्यालयमै ब्युटिसियन पठनपाठन



काठमाडौं । सौन्दर्य कला अर्थात् ब्युटिसियन प्रशिक्षण लिन चाहनेहरू ब्युटी पार्लर पुग्नु नौलो होइन। यही विषयको अध्ययन, अध्यापन विद्यालय तहमै हुँदा नौलो लाग्नु स्वाभाविक हो। काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले ‘सौन्दर्य शिक्षा’ विषयको औपचारिक पठनपाठन सुरु गरेको छ।

कक्षा ९ को ऐच्छिक विषयमा गत सातादेखि ब्युटिसियनको कक्षा सुरु भएको हो। विद्यालयले ऐच्छिक द्वितीयतर्फका लेखा, स्वास्थ्य र सौन्दर्य शिक्षामध्ये एक विषय छनोट गर्ने विकल्प दिएको छ । पाठ्यक्रम विकास केन्द्र र सौन्दर्य कला व्यवसायी संघ नेपालले कक्षा ९ र १० का लागि ‘सौन्दर्य शिक्षा’को पाठ्यक्रम तयार गरेका हुन् ।

छात्रले समेत यो विषय पढ्न पाउने विकल्प भए पनि पद्मकन्या विद्याश्रममा छात्रा मात्र अध्ययन गर्ने भएकाले पहिलो ब्याचका विद्यार्थी छात्रा छन् । पहिलो ब्याचमा १५ जना छात्राले ब्युटिसियन विषय रोजेका तर विद्यार्थीका लागि कोटा नतोकिएको विद्यालयका प्रधानाध्यापक रीता तिवारीले जानकारी दिइन् । उनको जानकारीमा विद्यालय तहमै यस्तो विषय पठनपाठन गर्ने पद्मकन्या विद्याश्रम सम्भवतः देशमै पहिलो हो।

‘अन्य विद्यालयमा ब्युटिसियनको पढाइ भएको सुनेका छैनौँ । यो विषय पढाउने हाम्रो विद्यालय पहिलो हो’, तिवारीले द नेपालटप दैनिकसँग भनिन् । कुल १०० पूर्णाङ्कमा ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक अभ्यास हुने भएकाले विद्यालयले ब्युटी ल्याबसमेत तयार गरेको छ। विद्यालय र सौन्दर्य कला व्यवसायी संघबीच पठनपाठनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार संघले विषय शिक्षक उपलब्ध गराएको छ। तिवारीले भनिन्, ‘विषय शिक्षक बाहिरबाट आउने भए पनि प्राक्टिकलका लागि ल्याब विद्यालयमै छ, बाहिरका ब्युटी पार्लरमा जानुपर्दैन।’ २००४ सालमा स्थापना भएको पद्मकन्या विद्याश्रममा हाल करिब ९०० विद्यार्थी छन् । यहाँ कक्षा ९ र १० मा प्राविधिक विषयअन्र्तगत सिभिल इन्जिनियरिङको समेत पठनपाठन हुँदै आएको छ । २०७३ सालदेखि यस्तो विषयको अध्यापन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्