अमेरिकासँग ३९ रनले हार्‍यो नेपाल



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ। अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ र सोमपालले छैटौं विकेटका लागि १०६ रनको साझेदारी गरेपनि नेपाललाई जितसम्म पुर्‍याउन सकेनन्। नेपाललाई अन्तिम ५ ओभरमा ५० रन भन्दा कम चाहिएको अवस्थामा दुव खेलाडी ४५औं ओभरमा आउट भएका थिए।

९३ रनमै ५ विकेट गुमेको अवस्थामा आरिफ र सोमपालले कीर्तिमानी शतकिय साझेदारी गरेका थिए । छैटौं विकेटका लागि नेपालको यो अहिलेसम्मको ठूलो साझेदारी हो । यसअघि छैटौं विकेटका लागि २०२० मा कुशल मल्ल र विनोद भण्डारीले अमेरिका विरुद्ध नै ८४ रनको साजेदारी गरेका थिए ।

नेपालका लागि आरिफले सर्वाधिक ६३ रन बनाए भने सोमपालले ४७ रन जोडे। यसबाहेक देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेलले १० रन बनाए। आदिल अन्सारी ४, करण केसी १ रनमा आउट भए भने कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन् । नेपालले अन्तिम ७ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

नेपाललाई अलआउट गर्न अमेरिकाका सौरभ नेत्रभाल्कर र अली खानले ३-३ विकेट लिए । नोसथुस केन्जिगले र निसर्ग पटेलले समान १ विकेट लिए । नेपालका दुई खेलाडी रनबउट भए।  यसअघि टेक्सासस्थित पर्लल्याण्डमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४५ रन बनाएको थियो।

अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा सुशान्त मोदानीले ५४ रन बनाए । यस्तै आरोन जोन्सले ४३ र साइतेजा मुम्मकामालाले ३६ रन जोडे। करण केसीले स्टेभेन टेलर (१) र कप्तान मोनाक पटेल (४) लाई सुरुमै आउट गरेपनि मोदानी र जोन्सले ८८ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्सलाई अघि बढाएका थिए। नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो ।

चार खेल मध्ये एक जित र एक बराबरीबाट नेपालले ३ अंक मात्र जोड्न सक्यो। अंकतालिकामा १६ खेलबाट १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ। अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्