२ हप्ता घरबाटै काम गर्न कर्मचारीलाई श्रीलंका सरकारको निर्देशन



एजेन्सी । श्रीलंकामा सरकारले कर्मचारीहरूलाई २ हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ ।

इन्धनको अभावले मुलुकमा संकट आइरहेको हुँदा २ हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड-१९को महामारीले गर्दा २ करोड २० लाख श्रीलंकाली आर्थिक संकटमा बस्न बाध्य छन ।

‘इन्धन आपूर्तिको सीमा, कमजोर सार्वजनिक यातायात प्रणाली र निजी सवारीसाधन चलाउन कठिन भएको हुँदा सोमबारबाट केही कर्मचारी मात्रै कार्यालयमा आएर काम गर्नू,’ गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ ।

स्वास्थ्य क्षेत्रलगायत अति महत्वपूर्ण कामका कर्मचारीले भने कार्यालयमै जानुपर्ने सर्कुलरमा भनिएको छ । इन्धन संकटसँग जुध्न यसअघि सरकारले हप्ताको ४ दिनमात्रै कार्यालय खोल्ने निर्णय गरेको थियो ।

श्रीलंकाका अहिले पेट्रोल पम्पहरूमा लामा लाइनहरू छन । इन्धन भर्न १० घन्टासम्म लाइन बस्नुपर्ने अवस्था छ । आउँदो केही महिनामा खाद्यान्नको अभाव हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्