माधव नेपालको निर्देशन : गठबन्धनको गीत धेरै नगाउनुहोस्



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन ।

आइतबार समाजवादी प्रेस सङ्गठन नेपालले काठमाण्डौमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले पालिकामा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् । उनले भने, ‘गठबन्धनलाई जोगाउँदै अघि बढ्नुपर्नेछ । अब चुनावको तयारीमा जुट्नुपर्छ । ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ । पालिका चुनावमा हामी गठबन्धनतर्फ बढी आशावादी भयौँ तर सोचेजस्तो परिणाम आएन । गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् । आफ्नो शक्तिप्रति गर्ने कुरामा जोड लगाउनुस् । सङ्गठन विस्तार गर्ने कुरामा लागिपर्नुस् ।’

अध्यक्ष नेपालले पालिका चुनावमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँटमा कठिनाइ नहुने बताएका छन। उनले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहमति गरेर र सहमति नजुटेको ठाउँमा एक्ला–एक्लै चुनाव लड्ने बताए । आउँदो चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछि पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) ले अहिले नयाँ तरङ्ग पैदा गरेको भन्दै जनता यसका लागि सचेत रहनुपर्ने बताएका छन । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हित विपरीत सम्भौता नगर्ने प्रतिबद्धता जनाउनुभएको भन्दै शङ्का गरिरहन आवश्यक नरहेको पनि बताएका छन।

अध्यक्ष नेपालले अहिले नेपालमा प्रतिगमनको कुरा धेरै उठिरहेको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्