बाम एकता कि पूर्वमाओवादी एकता ?



काठमाडौं । बाम एकताको बहस जारी रहँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘मिसन’ पूर्वमाओवादीहरूलाई एक ठाउँमा उभ्याउन केन्द्रित छ। पार्टी विभाजनपछि भएका प्रत्येक निर्वाचनबाट तेस्रोदेखि माथि माओवादी उक्लिन नसकेको पृष्ठभूमिमा प्रचण्डले पूर्वमाओवादीहरूको एकतामा जोड दिँदै आएका हुन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा त अझ हौसिँदै प्रचण्डले भने, ‘…अबचाहिँ करिबकरिब सबै पूर्वमाओवादी भन्ने जति एक ठाउँमा आउने वातावरण बनेको छ।’ सङ्घीय र प्रदेश निर्वाचनको सम्मुखमा प्रचण्डको यो अभिव्यक्ति आएको हो । तर, उनी नेतृत्वको माओवादीबाट अलग भएर भिन्न पार्टी र समूहमा रहेका पूर्वमाओवादी नेताहरूले एक ठाउँमा उभिने भन्ने प्रचण्डको अभिव्यक्तिलाई अस्वीकार गरेका छन्।

नेकपा माओवादी–क्रान्तिकारीका नेता परी थापाका अनुसार त प्रचण्डको अभिव्यक्ति ‘भ्रमपूर्ण’ पनि हो। माओवादी राष्ट्रिय राजनीतिमा निकै कमजोर बनेपछि उनको यस्तो अभिव्यक्ति आएको थापा ठान्छन्। उनले माओवादी दक्षिणपन्थी, अवसरवादी र प्रतिक्रियावादी कित्तामा गइसकेकाले पूर्वमाओवादीहरू एक ठाउँमा उभिन नसक्ने प्रष्ट पनि पारे। थापाले यसो भन्नुको अर्थ प्रचण्ड नेतृत्वको माओवादीमा सैद्धान्तिक विचलन आयो। अर्कोतिर, पार्टीको मार्गनिर्देशक सिद्धान्त, कार्यनीति र साङ्गठनिक पद्धति केही पनि माओवादीसँग नमिल्ने हुनाले एकता सम्भव नभएको थापा बताउँछन् ।

उनले द नेपालटपसँग भने, ‘प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउँछन् भन्ने मैलै पनि सुनेँ । उनको त्यो कुरा भ्रमपूर्ण छ। उनले माओवाद एक तरिकाले भन्ने हो भने त्यागिसके। यस्तो अवस्थामा एकता हुन्छ ?’ पूर्वमाओवादीहरू बढी भएको दल नेकपा माओवादी–क्रान्तिकारी नै हो। १० वर्षअघि प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता मोहन वैद्य ‘किरण’को नेतृत्वमा यो दल बनेको हो। यही दलबाट विभाजित बनेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अर्को दल नेकपामा पूर्वमाओवादीहरू नै छन् ।

यस दलबाट पनि विभाजित भएर नेता धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा नेकपा (बहुमत) हालै बनेको छ। बहुमतका नेता गुणराज लोहनीले त पार्टी एकता गर्ने वा मोर्चाबन्दी गरेर जाने भन्ने विषयमा केही कुरै नभएको बताए। यस्तो अवस्थामा प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउन लागेको भन्ने कुरा सत्य भएको उनी बताउँछन्। ‘हामीले संसदीय भासमा माओवादी फस्यो भनेका छौँ । अनि, संसदीय भासमा फसेको पार्टीका नेताले अब सँगै जाऔँ भन्दा हामी मान्छौँ ?’, उनले भने, ‘र, एकता वा मोर्चाबन्दी केही विषयमा कुरै भएको छैन।’ अर्का पूर्वमाओवादी नेता गोपाल किराती ‘साइँला’ अहिलेकै अवस्थामा पूर्वमाओवादीहरू एक ठाउँमा आउन नसक्ने बताउँछन्। उनले त प्रचण्डलाई प्रश्न नै गरेका छन्, ‘सबै माओवादी एक भएर गर्नेचाहिँ के हो ?’

यदि एक हुनुपर्ने भए २ वटा अवस्थामा सम्भव हुने उनको भनाइ छ। पहिलो, सर्वहारा सांस्कृतिक रूपान्तरणको प्रतिबद्धता र दोस्रो समाजवादको स्पष्टता।’ तर, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेपछि प्रचण्ड सर्वहारा सांस्कृतिक रूपान्तरण र समाजवादको दिशामा अघि बढ्न तयार नभएको पुष्टि भएको दाबी गर्दै साइँलाले माओवादी एक हुन नसक्ने ठोकुवा गरे।

‘कृष्णबहादुर महराजीसँग सम्वाद हुँदै थियो, कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा। तर, एमसीसी अनुमोदन भएपछि त माओवादी खाओवादी भएन ? यसले एक हुने वातावरण बिगार्‍यो’, साइँला भन्छन् । उनी ३ जेठ २०७५ मा एमाले–माओवादी एकताका विरोधी हुन् । २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाले माओवादी ब्युँताए पनि उनी माओवादीमा जोडिएका छैनन्। निर्वाचनमा आयोगका अनुसार प्रचण्ड नेतृत्वको माओवादीबाट अलग भएका नेताहरूले दर्ता गरेका दलको सङ्ख्या आधा दर्जनभन्दा बढी छ।

पार्टीमा नेतृत्व परिवर्तनमा अनिच्छुक प्रचण्डप्रति असन्तुष्ट हुँदै वैद्य मात्र नभई डा. बाबुराम भट्टराईलगायत धेरै नेता अलग भएका छन् । आइतबार प्रचण्ड र भट्टराईबीच भेट पनि भयो । स्रोतका अनुसार उनीहरूबीच सङ्घीय र प्रदेश निर्वाचनमा सके सबै माओवादी एक भएर निर्वाचनमा जाने, नभए समाजवादी केन्द्रको नाममा मोर्चाबन्दी गरेर जान सकिनेबारे कुरा भएको छ ।
भट्टराई नेपालको संविधान, २०७२ जारी भएलगत्तै माओवादीबाट अलग भएका नेता हुन् । उनले माक्र्सवाद, लेनिनवाद र माओवाद परित्याग गरेका छन् । तर, प्रचण्ड भने भट्टराई, वैद्य, विप्लव, साइँलासहितका नेताहरूलाई पार्टीमा जोड्न चाहन्छन्।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले अबको डेढ महिनामा धेरै पूर्वमाओवादी नेताहरू मूलधारको माओवादीमा जोडिने दाबी गर्छन् । त्यसका लागि नेताहरूबीच सम्वाद घनीभूत रूपमा भइरहेको उनले बताए। अर्कातर्फ बाम एकताको कुरो पनि चर्चामा आइरहेको छ। बाम विश्लेषकसमेत रहेका एमाले नेता घनश्याम भुसाललगायतका नेताहरू बृहत् बाम एकताको सन्दर्भ पुनः उठाइरहेका छन् ।

तर, बामपन्थी दलहरू दर्जनौँ टुक्रामा विभक्त भएका र आआफ्ना अडान र मान्यतामा अडिग रहेका अवस्थामा बाम एकताको सन्दर्भ उपयुक्त नहुने केही विश्लेषकले बताउँदै आएका छन्। एक राजनीतिक विश्लेषक भन्छन्, ‘नेपालका बामपन्थीहरूमा विचारशून्यको अवस्था छ, उनीहरू कुन विषयमा एकता गर्ने भन्नेमै अलमलमा छन् । पहिला पनि बाम एकता प्रयास भएकै हो तर उनीहरूको प्रस्ट वैचारिक दृष्टि र एकताका सैद्धान्तिक आधार नहुनुले वास्तवमा एकता हुन सकेन ।’ यसै कारण अबको एकता बाम एकता नभएर भइहाले पनि पूर्वमाओवादीबीचको एकताचाहिँ हुन सक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्