एमालेले भन्यो : स्टक क्लियर नगरी इन्धनमा मूल्य बढाएर करोडौं घोटाला गरियो



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको टिप्पणी गरेको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको चलखेल भएको बताएकी हुन् ।

उनले मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार घोटाला भएको बताएकी छन् ।

यसभन्दा अगाडि २२ करोड रुपैयाँ घोटाला भएको भन्दै उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट भएको घोटालाको छानविन गर्न सांसद अर्याालले आग्रह समेत गरेकी छन् ।

साथै उनले सम्बन्धित मन्त्रीले सदनमा आएर जवाफ नदिँदा सम्म सदन चल्न नदिने समेत बताएकी छन् । सभामुखले सम्बन्धित मन्त्रीलाई जवाफका लागि रुलिङ गर्न अर्यालको माग छ ।

प्रतिक्रिया दिनुहोस्