बालेनले पेश गरेको नीति तथा कार्यक्रम संशोधनसहित पारित



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पेश गरेको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम पारित भएको छ। बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो ।

सभामा मेयर बालेनले नीति तथा कार्यक्रममाथि उठेका विषयहरुको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए । उनले सदस्यहरुले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार यथासम्भव समावेश गरिने बताएका छन ।

असार ५ गते ल्याइएको महानगरपालिकाको नीति तथा कार्यक्रममा नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने घोषणा गरिएको छ । यस्तै काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरूलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यक्रमको निरन्तरता, महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बिमा, महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निःशुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाउने उल्लेख गरिएको छ।

यसैगरि, एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गर्ने उल्लेख छ । बिग्रेका ढल, बाटो थप क्षती हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति सहितको हाल संचालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरताको कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्