धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै



काठमाडौं । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरव पर्यटन रेल’ आज जनकपुर स्टेसनमा आउने भएको छ। जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन्।  रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो। 

भारत सरकारको महत्वकाङ्क्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ। भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्नेछ भने जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गङ्गा आरतीमा उनीहरूलाई सहभागी गराइनेछ

मंगलबार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेसनवाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरूको भ्रमण गरेर शुक्रवार अपरान्ह नेपाल प्रवेश गर्न लागेको हो । समय तालिकाअनुसार मध्यान्न १२ बजे जयनगर आइपुग्ने सो रेलले त्यसपछि नेपालको यात्रा तय गर्नेछ । शनिबार पुनः नेपाल भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्नेछ । 

 

प्रतिक्रिया दिनुहोस्