रोल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो



रोल्पा । रोल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको छ। रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन्। यसरी दायर भएका २२७ मुद्दा फर्छ्योट हुँदा ९५ फर्छ्योट हुन बाँकी छन्। दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन्।

धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ। विवाहपछि सोचाइमा भिन्नता आउने, विहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ। गत वर्ष २२६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १५६ वटा फर्छ्योट भएका छन्। सो अवधिका ७० मुद्दा फर्छ्योट हुन बाँकी छ।

आर्थिक वर्ष २०७६/७७ मा १६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १२३ वटा फर्छ्योट भएका थिए। सम्बन्ध विच्छेद गर्नेमध्ये अधिकांश २७ वर्ष मुनिका छन्। चौध वर्ष उमेरका बालबालिका पनि सम्बन्ध विच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिए। ‘विवाह भएको चार महिनामै सम्बन्ध विच्छेद गर्न आउने गरेको तथ्यांक छ’, उनले भने।

अंश दाबीबिना सम्बन्ध विच्छेद गरी पाउँ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको छ। अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताए। सम्बन्ध विच्छेदको मुख्य कारण बालबिवाह भएको रोल्पा जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्काको भनाइ छ।

‘सानै उमेरमा विवाह गर्छन्, परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गराउन आउँछन्’, उनले भने। सम्बन्ध विच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपोग, मादक पदार्थको सेवन, कुटपिटलगायत हिंसालगायत रहेको छ।

प्रतिक्रिया दिनुहोस्