कांग्रेसको नीति महाधिवेशनको लागेन टुङ्गो



काठमाडौं । नेपाली कांग्रेसको नीति महाधिवेशन अनिश्चित छ। पार्टीको १४औँ महाधिवेशन हुँदा ६ महिनासम्ममा नीति महाधिवेशन गर्ने कांग्रेसले जनाएको थियो। महाधिवेशन भएको भने ७ महिना बित्न लाग्यो। तर, नीति महाधिवेशन हुने छाँट अझै छैन।

पार्टी केन्द्रीय सदस्य दिनेश कोइरालाले नीति महाधिवेशन छिटो हुनुपर्ने भन्दै यसअघि शीर्ष नेताहरूसँग कुरा राखेको बताए। पार्टीको नीति तथा कार्यक्रम स्पष्ट पारेर जनतामा जान नीति महाधिवेशन अनिवार्य रहेको उनी बताउँछन्। ‘पार्टीका नेताहरूलाई नीति महाधिवेशन कहिले हुन्छ ? भनेको थिएँ। उहाँहरूले यसबारे केही भन्नुभएन तर जनतामा कांग्रेसको नीति र कार्यक्रम यो हो भन्न न पाउनुप¥यो नि !’, कोइरालाले द नेपालटपसँग भने।

कांग्रेसले १३औँ महाधिवेशनमा भने कांग्रेसले नेतृत्व र नीति महाधिवेशन एकै पटक गरेको थियो । महाधिवेशनबाटै पार्टीको सैद्धान्तिक र वैचारिक तय गर्न स्पष्ट पारेको थियो । तर, १४औँ महाधिवेशनमा त्यस्तो भएन। नेतृत्व मात्र चयन भयो। जतिबेला प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पार्टीको ‘वैधानिकता’ जोगाउन चुनौती थियो किनभने पार्टी केन्द्रीय समितिको ४ वर्षे कार्यकाल भए पनि उनले विधानअनुसार ‘विशेष परिस्थिति’मा थप्न मिल्ने १ वर्षे सुविधा उपभोग गर्दै अन्ततः संविधानअनुसारको ६ महिने अवधि पनि महाधिवेशन नगरी गुजारेका थिए।

त्यसपछि महाधिवेशन गर्दा नेतृत्व मात्र चयन गराए। सैद्धान्तिक र वैचारिक पक्षमा थप संशोधन गर्न हरेक महाधिवेशनअघि नीति महाधिवेशन गर्ने प्रचलन कांग्रेसको छ।वैधानिकता जोगाउन भन्दै नेतृत्व महाधिवेशन मात्र कांग्रेसले २४ मंसिर २०७८ मा गरेको हो । लगत्तै कांग्रेस स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो। स्थानीय निर्वाचन पनि ३० वैशाखमा सकिएको छ। तर, सङ्घीय र प्रदेश संसद्को निर्वाचन पनि तोक्ने तयारीमा देउवा छन् । मंसिरतिर दुवै तहको निर्वाचन हुने चर्चा चल्दै आएको छ।
यदि, त्यसबेला निर्वाचन हुने भए नीति महाधिवेशन अझ पछि सर्न सक्ने पार्टी अर्का केन्द्रीय सदस्य प्रदीप सुनुवारले बताए। ‘निर्वाचन घोषणा भयो भने त हामी निर्वाचन केन्द्रित गतिविधिमा होमिनुपर्छ । नीति महाधिवेशन भ्याइँदैन । त्यसो हुँदा संघ र प्रदेशको पनि निर्वाचन सकिएपछि होला’, सुनुवारले भने।

गत वर्षको कात्तिक अन्तिम साता बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतृत्व र नीति महाधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय गरेको थियो । सोहीअनुसार महाधिवेशनको बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रमसँगै साङ्गठनिक र राजनीतिक प्रतिवेदन पेस भएनन् । आयव्ययसहितका केही प्रतिवदेन मात्र पेस भएका थिए । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले भने आगामी भदौ मसान्तसम्ममा नीति महाधिवेशन गर्न सकिने बताउँदै आएका छन् । तर, टुङ्गो छैन । नीति महाधिवेशनअघि पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गर्न हुन बाँकी नै छ।

उपसभापतिको नेतृत्वमा प्रतिष्ठान गठन हुन्छ । उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ छन्। स्रोतका अनुसार खड्काको नेतृत्वमा प्रतिष्ठान गठन हुने सम्भावना छ। प्रतिष्ठान गठन भएपछि नीति महाधिवेशन गर्दा सहज हुने कांग्रेसले जनाएको छ। हरेक राजनीतिक दलले महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने नभई बद्लिँदो विश्व राजनीतिक घटनाक्रम र देशको आन्तरिक घटनाक्रमको वस्तुवादी ढङ्गले संश्लेषण गर्दै सोहीअनुसारको नीति तय गर्छ । यद्यपि, नीति महाधिवेशन नहुँदा कांग्रेसको नीति तथा कार्यक्रम नै छैन।

महामन्त्री शर्माले भने स्थानीय तह निर्वाचनमा पार्टीका अर्का महामन्त्री गगनकुमार थापा संयोजकत्वको समितिले सार्वजनिक गरेको घोषणापत्रमै पनि पार्टीको नीतिबारे स्पष्ट उल्लेख भएको बताएका छन्। यस आधारमा कांग्रेस नीतिविहीन नभएको उनी बताउँछन्। यद्यपि, औपचारिक फोरमबाट भने पार्टीको नीति तय गर्न भने बाँकी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्