प्रहरीले भन्यो : मृतक गायिकाको मोवाइल भेटिएन, घटना शंकास्पद



काठमाडौं । प्रहरीले लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएको जनाएको छ । काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी सुनारको अनुसन्धानमा खटिएको प्रहरी टोलीले मृत्यु शंकास्पद देखिएको जनाएको हो ।

सुनारको मत्यु भएको सूचना पाएलगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले विभिन्न पाटोहरुबाट घटनाको अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्मको अनुसन्धानले उनको मृत्यु शंकास्पद देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन्।

अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृत भेटिँदा पनि मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण रहेको छ ।

अनुसन्धानको क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । पक्राउ परेका सूर्य श्रेष्ठबाट अहिलेसम्म कुनै नयाँ तथ्य खुल्न सकेको छैन । प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका थिए ।

सुर्खेत घर भएकी दिलमाया नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्