पर्सामा सालको काठसहित एक जना पक्राउ 



वीरगन्ज : पर्सा प्रहरीले सालको गोलाइसहित एक जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ देवरियाका सलाम मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । 

अन्सारी बिआर २२ आर ६८१३ नम्बरको भारतीय मोटरसाइकलमा पर्सा राष्ट्रिय निकुञ्ज जंगलबाट अवैध रुपमा भित्र्याएको ७ फिट लामो र ८ इन्च चौडाइ भएको १ थान सालको काठ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको गस्ती टोलीले अन्सारीलाई काठसहित पक्राउ गरेको थियो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । अहिले अंसारीलाई वन कार्यालय पर्साको जिम्मा लगाउने काम भइरहेको प्रहरी नायव उपरिक्षक शर्माले जानकारी दिए ।  

यसैगरी पर्साको बहुदरमाई नगरपालिकामा शुक्रबार बिहान आगलागी हुदाँ लाखौँको धनमाल जलेर नष्ट भएको छ । नगरपालिकाको वडा नं. २ सिसियाही टोलस्थित दुर्गा साह तेलीको काठ र एलबेस्टरले घरमा आगलागी हुँदा करिब ८ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । 

गाईगोठमा लाखखुट्टे धपाउन बालिएको आगोले अचानक ठूलो रुप लिदाँ घर भित्र बाँधि राखेको २ वटा गाई, अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्