बाढिपीडितको राहतमा ब्रम्हलुट !



काठमाडौं : प्रदेश दुई उसै पनि भ्रष्टचारले बद्नाम छ । मन्त्रीदेखि कर्मचारीसम्म, नेतादेखी जनप्रतिनिधिसम्म भ्रष्टचारमा मुछिएको समाचार सार्वजानिक भइरहन्छ । हुँदाहुँदा बाढिपीडितको राहतमा समेत लुट मच्चाएको नेपाल पत्रकार महासंघ, सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको रिपोर्ट छ :–

बाढीपीडितलाई वितरण गर्न तयार परिदै गरिएको राहतको प्याकेटमा नुनदेखि चामलसम्म नक्कली विल बनाउने गरेको खुलासा भएको छ । सिरहा जिल्लामा प्रदेश २ सरकारले राहत उपलब्ध गराउन २५ सय घरपरिवारको लागि २७ सय २० रुपैयाँको प्याकेट बनाएर वितरण गर्ने कार्यक्रम रहेकोे छ । जसमा बाढीपीडितलाई प्रति घरपरिवार २७ सय २० रुपैयाँको दरमा राहत उपलब्ध गराउने योजना प्रदेश सरकारको छ । 

राहतको प्याकेटमा राखिएको चामल गोलबजारका महेश साह (कोकवा)को मिलबाट खरिद भइरहेको छ । मिलबाट प्रतिकिलो ४३ रुपैयाँको दरमा चामल खरिद गरेर राहत उपलब्ध गराउँने पक्षले प्रतिकिलो ४६ रुपैयाँको दरमा नक्कली बील बनाउने गरेको खुलासा भएको छ । त्यस्तै साजन ब्राण्डको तेलको बजार मूल्य १ सय ५० रहेपनि १ सय ७२ को बिल बनाइएको छ ।

चामल विक्रेता महेश साह भन्छन्, ‘के गर्नु मन्त्री कार्यकर्ताको पनि पेट छ त्यसैले उनिहरुले भने अनुसार मिलाएर बील बनाएको हो ।’  बाढिपीडितलाई प्रतिघर ५५ किलो चामल, चार किलो दाल, दुई किलो चना, एक लिटर तेल, सुकुल, झुल, साबुन, कम्बल र त्रिपाल उपलब्ध गराउँदै आइएको छ । 

चामल बाहेक अन्य राहतको सामग्रीमा समेत बढाएर बील बनाइको छ भने कतिपय सामग्रीको नक्कली बीलको कारोबार भइरहेको समेत जानकारीमा आएको छ । प्रदेश २ का अर्थ मामिला मन्त्री विजय यादवले राहत वितरणको जिम्मा सिरहा उद्योग वाणिज्य संघलाई दिइएको बताउँदै भने ‘प्याकेट तयार पारी राहत सामग्रीको व्यवस्थापन गर्दै आएको छ ।’  

कुल २५ सय घरपरिवारको लागि राहतको सामाग्री खरिद गर्न प्रदेश सरकारको तर्फबाट पहिलो चोटि तत्काल १० लाख उपल्ब्ध गराइएको छ । १३ सय पोका राहतको लागि तयारी गरिरहेको प्रदेस २ मुख्यमन्त्री कार्यालयका उपसचिव दिलिप प्रधानले बताए ।

अर्का तिर सिरहा जिल्लामा बाढीपीडितका नाममा आएको राहत नेताहरुले कार्यकर्ता र आफन्तलाई वितरण गरिएको गुनासो बढेको छ । गत २७ र २८ असारमा आएको अविरल वर्षापछि डुबानमा परेका धेरैजसो पीडितले राहत नपाएको गुनासो छ । सिरहाको औरही, सखुवानन्कारकट्टी, कर्जन्हा, मिर्चैया, अर्नामालगायतको स्थानीयतहमा राहत उपलब्ध गराइएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्