भाजपाका वरिष्ठ नेता अरुण जेटली आईसीयूमा 



काठमाडौं : भारतका पूर्ववित्तमन्त्री एवं भाजपाका वरिष्ठ नेता अरुण जेटली अस्पताल भर्ना भएका छन् । 

स्वासप्रश्वासमा समस्या देखिएपछि जेटलीलाई शनिबार बिहान दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा राखेर उपचार भइरहेको छ । 

एम्स अस्पतालले विज्ञप्ति जारी गरी विभिन्न विभागका डाक्टरहरुको टोलीले उनको उपचार गरिरहेको जानकारी दिएको छ । साथै उनको अवस्था स्थीर र ब्लड प्रेसर सामान्य रहेको समेत बताइएको छ ।

जेटली अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल पुगेका थिए ।

मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा बेला बेलामा समस्या आउने भएकाले धेरै पटक उनको जिम्मेवारी पीयूष गोयलले सम्हाल्ने गरेका छन् ।

सन् २०१९ को फेब्रुअरी महिनामा जेटली उपचारका लागि विदेश गएकाले अन्तरिम बजेट पेश गर्न पाएका थिएनन् । मे महिनामा भाजपा दोस्रो पटक सरकारमा गएपछि उनले प्रधानमन्त्री मोदीलाई पत्र लेखेर स्वास्थ्यका कारण सरकारको कुनै जिम्मेवारीमा नरहने जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्