जब भेटिए एकै नम्बरका ‘जुम्ल्याहा’ मोटरसाइकल !



काठमाडौं । बिहीबार बिहान करिब साढे ८ बजे झमझम पानी परिरहँदा कामविशेषले चाबहिलतर्फ जाँदै थिए प्रदीपजंग क्षेत्री। गौशाला चोकमा रेडलाइट बलेपछि उनले बाइक रोके ।

ट्राफिक जाममा रोकिएकै बेला छेउमा सरकारी गाडी चढेका व्यक्तिले उनलाई अगाडि हेर्न इशारा गरे । ठीक आफ्नो अगाडि हेर्दा अनौठो दृश्य प्रदीपले अनौठो दृश्य देखे । रेनकोट ओढेका दुई व्यक्ति एउटै नम्बर प्लेटका दुई मोटरसाइकलमा बसिरहेका थिए ।

क्षेत्री भन्छन्, ‘सुरुमा नम्बर एउटै देखेँ । अचम्भ लागेर माथि हेर्दा प्रदेश र लट पनि उही रहेछ ।’ उनले एक–दुई क्लीक फोटो खिचे ।

‘भिडियो पनि खिचौं कि भन्ने लागेको थियो तर, जाम खुलिहाल्ने भएकाले खिचिनँ’, प्रदीपले भने ।रुटिन अफ नेपाल बन्द, एमआरआरजस्ता फेसबुक ग्रुपमा यस्ता रमाइला फोटोहरु आउने भएकाले उनीहरुलाई दिनकै लागि खिचेको उनले बताए । एकैछिनमा फोटो भाइरल भयो ।

प्रदीपका अनुसार दुई सवारीचालक एक–अर्काको नम्बर प्लेट हेर्दै कुराकानी पनि गरिरहेका थिए ।‘उनीहरु परिचित थिए वा अपरिचित भन्ने चाहिँ एकिन भएन, तर नम्बर प्लेटकै विषयमा कुराकानी गरिरहेको जस्तो सुनिन्थ्यो,’ प्रदीपले भने, ‘करिब २ मिनेटको जाम खुलेपछि दुवै मोटरसाइकल चाबहिलतर्फ लागे ।’

तस्विरमा दुबै मोटरसाइकलको नम्बर प्लेटमा बागमती प्रदेश ०२२ प २३८० लेखिएको स्पष्ट देखिन्छ । यस विषयमा ट्राफिक प्रहरीसँग बुझ्न खोज्दा उनीहरुले पनि आश्चर्य व्यक्त गरेका छन । ट्राफिक प्रहरीका प्रवक्ता सञ्जीवदास शर्माले यस विषयमा बुझेर खबर गर्न मातहतका ट्राफिक युनिटलाई निर्देशन दिएको बताए । ‘जहाँ पनि त्यो नम्बर प्लेटका मोटरसाइकल देखिएमा समात्न तीनवटै जिल्लामा निर्देशन दिइसकेका छौं’, उनले भने ।

यस्तो कसरी भयो भनेर आफूहरु आश्चर्यमा रहेको शर्मा बताउँछन् । यस विषयमा थप बुझ्न यातायात विभागमा पत्र पठाइएको पनि उनले जानकारी दिए । यातायात व्यवस्था विभागले कुनै पनि सवारीसाधनलाई एक–अर्कोसँग नदाहोरिने गरी नम्बर उपलब्ध गराउने गर्छ । एउटै नम्बर प्लेट हुनुको अर्थ या विभागबाटै त्रुटि भएको छ वा दुईमध्ये एक मोटरसाइकल चालकले नक्कली नम्बर प्लेट बनाएको हुन सक्छ । दुवै मोटरसाइकल ट्राफिक जाममा एकै ठाउँ रोकिन पुग्नु चाहिँ रोचक संयोग हो ।

प्रतिक्रिया दिनुहोस्