म्यान भर्सेस वाइल्डः ग्रिल्सले भने, ‘बाघले हमला गरे मारिदिनु होला,’ मोदीले भने, ‘मार्नु हाम्रो संस्कारमा छैन’



एजेन्सी : डिस्कभरी नेटवर्कको म्यान भर्सेज वाइल्ड शोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भएको एपिसोडको प्रोमो शुक्रबार जारी गरियो। भिडियोमा देखिए अनुसार बियर ग्रिल्स र मोदीबीच निकै रोचक कुराकानी पनि हुन्छ।

बिअर ग्रिल्स मोदीसँग मिलेर एउटा भाला तयार गर्छन्। यतिबेला उनले मोदीलाई सोध्छन्, ‘मैले सुनेको छु कि बाल्यकालमा तपाईंले धेरै समय जंगलमा बिताउनु भएको छ ?’ जवाफमा मोदीले भन्छन्, ‘म पहाडतिर जान्थेँ। १७–१८ वर्षको उमेरमा मैले घर छोडेँ। त्यसपछि के गर्ने, के नगर्ने भनेर सोच्ने गर्दथे। प्रकृति मलाई मन पर्दथ्यो।’

बिअरले मोदीलाई भारतका सबैभन्दा महत्वपूर्ण व्यक्ति बताउँदै उनको सुरक्षा गर्नु आफ्नो काम भएको बताउँछन्। बिअरले मोदीलाई भाला दिँदै भन्छन्, ‘यदि कुनै बाघ तपाईंतर्फ आउँछ भने तपाईंले त्यसलाई मारिदिनुहोस्।’ यसमा मोदी भन्छन्, ‘कसैलाई मार्नु हाम्रो संस्कारमा छैन तर यसलाई म तपाईंको सुरक्षार्थ  आफूसँग राख्छु।’

भाजपाले जारी गर्‍यो प्रोमो :

यसको प्रोमो डिस्कभरीले होइन, भाजपाले ट्वीटरमा जारी गर्‍यो। यो चार मिनेट २४ सेकेन्डको छ। यसमा मोदी र कार्यक्रमका सञ्चालक ग्रिल्सले पर्यावरण र वन्यजन्तुप्रति जागरुकताबारे कुरा गरिरहेको पनि देख्न सकिन्छ। भारतमा छायांकन गरिएको कार्यक्रमको पहिलो टिजर जुलाई २९ मा जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्