सवैया साझेदारी वन अतिक्रमण जग्गा खाली गराउँन व्यवस्थापन पक्ष सक्रिय 



वीरगन्ज : जिल्लाको पर्सागढी नगरपालिका क्षेत्रमा रहेको सवैया साझेदारी वनलाई संरक्षित गर्न त्यहाँका व्यवस्थापन पक्ष सक्रिय भएको छ । सवैया साझोदारी वन कुल ३ हजार १ सय ८८ दशमलव ५९ हेक्टरमा फैलिएको छ । स्थानियले कुल वन क्षेत्रमध्ये २२ हेक्टर जग्गा अतिक्रमण गरी अवैध रुपमा खेतीपाती गर्दै आएका थिए ।

स्थानिय वनको जग्गा कब्जामा लिएर धान, गहुँ, उखुलगायतको खेतीपाती गर्दै आएको २२ हेक्टर जग्गामध्ये १२ हेक्टर जग्गा वन व्यवस्थापन समूहका अध्यक्ष लखन साहले फिर्ता गराएका छन् । 

शनिबार वन व्यवस्थापन समूहले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष साहले जग्गा खाली गराउँन स्थानियसँग संघर्ष नै गर्नु परेको बताए । उनले भने, ‘अतिक्रमित जग्गालाई पुन कब्जामा लिएर तारवार लगाई सुरक्षित गरी सकेका छौं । बाँकी रहेको १० हेक्टर जग्गा फिर्ता गराउँन पहल भइरहेको छ केहि महिना भित्र त्यो जग्गा पनि आफ्नो कब्जामा हुन्छ ।’

वनको कुल जग्गामध्ये ९.२७ आमादेवी धार्मिक स्थल, ७.५७ हेक्टर दुर्गामन्दीरमा, भेडाहा खोलाले १८२. ४८ हेक्टर जग्गा कटान, सशस्त्र प्रहरीले शुन्य दशमलव ४७ हेक्टर, वन वाँटिकाको लागि ८.९ हेक्टर, माछापोखरीको लागि शून्य दशमलव १५ हेक्टर गरी कुल २०८.७९ हेक्टर जग्गा प्रयोगमा छ । 

बाँकी जग्गामा वनमा परिणत छ । वनको जग्गा संरक्षण गर्नको लागि विभिन्न ठाउँमा तारबार लगाइएको छ भने वनलाई आगोबाट जोगाउँन फायर लाइनको विस्तार समेत तिव्र रुपमा गरिएको साहले बताए । उनले वन क्षेत्रमा चरीचरण, आगो नियन्त्रण, अवैध तरिकाले हुने वन फडाँनी लगायतको अवैध गतिविधि नियन्त्रण गर्न विशेष निगरानी समेत बढाइएको बताए । 

हाल सवैया साझेदारी वन व्यवस्थापन समूहमा कुल ९२३४ क्वीफिट गोलिया मौज्दात रहेको छ । जसमध्ये ७ हजार सालको काठ रहेको छन भने अन्य विभिन्न जातिका काठ मौज्दात रहेको जानकारी गराए । गत आर्थिक वर्षमा पनि जनताको सुविधाको लागि १४ हजार मध्ये १३ हजार क्वीफिट काठ वितरण गरिएको थियो । दैविक प्रकोपमा परी क्षति भएका ५६ घर परिवार र घरकाजको लागि ४ सय ३७ परिवारलाई अनुगमन गरी आवश्यकता अनुसारको कुल १३ हजार क्वीफिट काठ उपलब्ध गराई सकेका छौ, अध्यक्ष साहले भने । 

उनले गत आर्थिक वर्षमा काठ बिक्रीबाट १ करोड ३८ लाख ५६ हजार आम्दनी भएको बताए । उनले दाउँरा बिक्री गरेर २ लाख ४० हजार र यस साझेदारीले स्थानिय समुदायको लागि सञ्चालन गरेको एम्बुलेन्सबाट ३५ हजार रुपैयाँ आम्दनी भएको बताए । त्यसैगरी गरिबी निवारण, सामुदायिक, संस्थागत र स्थानिय विकासका कार्यक्रमहरुका लागि सरकारले उपलब्ध गराएको ३९ लाख ६९ हजार गरी कुल १ करोड ८१ लाख रुपैयाँ मौज्दात रहेको थियो । 

कुल रकम मध्ये १० प्रतिशत कार्यालयको प्रशासनिक तर्फ खर्च हुने गरेको छ भने, ४० प्रतिशत वन विकास क्षेत्र र ५० प्रतिशत वन संरक्षणमै खर्च गर्ने गरेको अध्यक्ष साहले बताए । पर्सा जिल्लामा कुल पर्सा राष्ट्रिय निकुञ्ज र तीनवटा साझेदारी वन अन्तरगत कुल ७५ हजार ८ सय ४३ हेक्टर क्षेत्रमा वन फैलिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्