दिवाकर घले यु–२० टिमको म्यानेजर



काठमाडौं । दिवाकर घले गुरुङ नेपाली यु–२० राष्ट्रिय टिमको टिम व्यवस्थापकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ(एन्फा) ले शुक्रबार महावीर क्लबका अध्यक्षसमेत रहेका गुरुङलाई यु–२० टिमको व्यवस्थापकमा नियुक्त गरेको हो।

घलेले भारतमा हुने साफ यु–२० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन सम्हाल्नेछन्। भारतको ओडिसामा हुने प्रतियोगिता २५ जुलाईदेखि ३ अगस्टमा हुने तालिका छ।

यसपछि १० देखि १८ सेप्टेम्बरसम्म बहराइनमा हुने यु–२० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ।

साफमा नेपालले २५ जुलाईमा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै, नेपालले २७ जुलाईमा श्रीलंका र ३१ जुलाईमा घरेलु टिम भारतविरुद्ध खेल्नेछ। नेपालले २ अगस्टमा बंगलादेशविरुद्ध समूह चरण अन्तिम खेल खेल्नेछ।

यसैगरी यु–२० एसियन कपमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपाली टिमले १० सेप्टेम्बरमा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ।

नेपालले १२ सेप्टेम्बरमा कतारविरुद्ध, १४ सेप्टेम्बरमा घरेलु टिम बहराइनविरुद्ध र १८ सेप्टेम्बरमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्