तीन लाख नगदसहित सहायक वन अधिकृत डिसी अख्तियारको नियन्त्रणमा



डडेल्धुरा : तीन लाख नगदसहित सहायक वन अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले समातेको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका-१ भात्काँडाबाट सव-डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो।

विषेश सूचनाका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनका साथबाट ३ लाख २६ हजार नगद बरामद गरेको छ । 

आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले भने- ‘एक जना ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार रुपैयाँ बैंकमा हाल्न भनेछन् र ठेकेदारले पैसा हालिदिएछन, अरु पैसा निकालेर यताउता पारिसकेको रैछ हाम्रो टोलीले ३ लाख २६ हजार बरामद गरेको छ।’

ठेकेदार को थिए भनेर घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। सहायक वन अधिकृत डिसी लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिनिन्छन् । 

प्रतिक्रिया दिनुहोस्