गुट फेरेर मन्त्री



काठमाडौं । पार्टीको आन्तरिक कलहमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका २ जना नेता मन्त्री बनेपछि अध्यक्ष उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलियो हुन पुगेका छन् ।

यादवले कृषिमन्त्री महिन्द्र राय, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर ३ जनालाई मन्त्री बनाएका हुन्। रेणु यादव र रामसहाय भने अध्यक्ष यादव पक्षकै हुन्। तर, असन्तुष्ट सांसदहरूलाई सरकारमा पठाउन उनीहरूलाई फिर्ता बोलाइएको छ।

विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये मोहम्मद इस्तियाक राई र प्रदीप यादव क्रमशः भौतिक पूर्वाधार र वनमन्त्री बनेसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुगेका हुन् । राई र यादवले हालसालै कित्ता परिवर्तन गरेका हुन् । पछिल्लो समय जसपाको विवादमा दुवैले भट्टराईलाई साथ दिएका थिए। भट्टराई निकट स्रोतका अनुसार यादव सच्चिएनन् भने नयाँ पार्टी बनाउनुपर्ने उनीहरूले मत राख्दै आएका थिए।

राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादव कृषिमन्त्री बनेका छन् । पार्टी नेतृत्वसँग असन्तुष्ट उनलाई पनि भट्टराई पक्षमा जान नदिन मन्त्री बनाइएको हो। ३ मन्त्रीलाई फिर्ता बोलाइए सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने यथावत् राखिएको छ। राई नेतृत्वको तत्कालीन सङ्घीय समाजवादीबाट आएका श्रेष्ठ पछिल्लो समय यादवको पक्षमा उभिएका नेता हुन्।

‘इस्तियाक राई, प्रदीप यादव मन्त्रिपरिषद्मा पर्नुभयो, महेन्द्र (महेन्द्रराय यादव)जी पनि उपेन्द्रतिर नै आउनुभएको छ, अब बाबुरामजीसँग त को होला र ?’, जसपा प्रमुख सचेतक प्रमोद साहले भने, ‘यस घटनाक्रमले त उपेन्द्रजी पार्टीमा स्वतः बलियो हुनुभएको छ।’ उनका अनुसार भट्टराई पक्षका २ जना नेताहरू मन्त्री भएलगत्तै जसपा नेपालको आन्तरिक कलह पनि सकिएको छ।

पछिल्लो केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ‘३ सदस्यीय हेडक्वार्टर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्र कुनै पनि महत्वपूर्ण निर्णय लिने भन्ने सहमतिलाई यादवले उल्लङ्घन गरेको, पार्टीलाई मनोमानी रूपमा चलाउन खोजेको, स्थानीय तहको निर्वाचनमा एकलौटी रूपमा टिकट वितरण गरेको, ‘हेडक्वार्टर’को अवधारणाविपरीत मन्त्रिपरिषद्मा सिफारिसमा एकलौटी अधिकार लिएको विषयमा यादव र भट्टराई पक्षबीच आन्तरिक सङ्घर्ष चल्दै आएको थियो ।

आफूविरुद्ध हस्ताक्षर अभियानसमेत चलाएका नेताहरू राई र यादवलाई नै मन्त्रीमा सिफारिस गरेर यादवले बाबुराम ‘फ्याक्टर’लाई कमजोर बनाएका छन्। अब भट्टराईको पक्षमा राजकिशोर यादवलगायत केही असन्तुष्ट नेता मात्र बाँकी रहेका जसपा नेपालका एक नेताले बताए।

उनका अनुसार २७ र २८ असारमा वीरगंजमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सम्भवतः भट्टराई उपस्थित हुनेछैनन् किनभने ‘सहमतिको आधारमा अलग हुने’ जानकारी अध्यक्ष यादवलाई उनले गराइसकेकाले पनि सो बैठकमा उनी अनुपस्थित हुन सक्नेछन् । भट्टराई अनुपस्थित भएमा यादवले वीरगंज बैठकबाट आफूअनुकूलका निर्णय गरेर अघि बढ्न पाउनेछन् ।

इस्तियाकको ‘इन्ट्री’
मन्त्री नबनाई पार्टी विभाजनको धम्की दिएका मोहम्मद इस्तियाक राईले मन्त्री पद पाएका छन् । पार्टी नै विभाजन गरेर जाने धम्की दिएपछि पार्टी अध्यक्ष यादवले उनलाई मन्त्री बनाएर थामथुम पारेका छन् ।

इस्तियाक राई पहिलो पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा शहरी विकासमन्त्री बनेका थिए। ओलीको दोस्रो कार्यकालमा पनि उनले मन्त्री हुनका लागि निकै जोडबल गरेका थिए तर अध्यक्ष यादव आफैँ नेतृत्व गरेर सरकारमा गएका कारण इस्तियाक सरकारमा जान पाएन।

ओली नेतृत्वको सरकारमा मन्त्री हुन नपाएका इस्तियाक समूह गठबन्धनको नेतृत्व गरेका शेरबहादुर देउवाको सरकारमा जान खोजेका थिए। तर, अध्यक्ष यादवले इस्तियाकलाई मन्त्री बनाउन नसकेपछि उनी भट्टराई कित्तामा उभिए।भट्टराई समूहले यादवलाई अध्यक्षबाटै हटाउनेसम्मको कसरत गरेको थियो।

यादव र भट्टराई पक्षबीच विवाद चुलिँदै गएपछि अन्ततः दुवै नेता ‘भद्र सहमति’ गरेर अलग हुने निर्णय गरेका छन्। इस्तियाक भट्टराईसँगै जाने भएपछि यादवले मन्त्री बनाएर आफ्नो कित्तामा उभ्याएका छन् । एक नेताका अनुसार मन्त्री बनेका ३ वटै नेता एक साताअघिसम्म भट्टराईको साथमा थिए तर मन्त्री पद पाएपछि यादवलाई नै साथ दिएका छन् ।
भट्टराईले नमान्ने
भट्टराई पक्षले मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ। अध्यक्ष यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिने भएको छ। भट्टराई पक्षका एक नेताले यादवको एकलौटी निर्णय स्वीकार्य नरहेको बताए । पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रूपमा मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गलत रहेको भन्दै यसलाई सच्याउनुपर्ने बताए।

यता, भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । यादवले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न प्रधानमन्त्री देउवालाई सोमबार आग्रह गरेका थिए । तर, भट्टराईको आग्रह प्रधानमन्त्रीले अस्वीकार गरेका हुन् ।

यसैबीच भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । २९ र ३० असारमा काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए । यसअघि अध्यक्ष यादवले २७ र २८ असारमा वीरगंजमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
रेणु असन्तुष्ट
जसपामा मन्त्रीहरू हेरफेर भए पनि असन्तुष्टि झनै चुलिएको छ। भौतिक तथा पूर्वाधारमन्त्रीबाट फिर्ता बोलाइएपछि कार्यकारिणी सदस्य रेणु यादवले असन्तुष्टि जनाएकी छन् ।

यादवले पार्टीबाट राजीनामा नै दिने मनस्थितिमा पुगिसकेकी उनी निकट नेताले बताएका छन् । उनको असन्तुष्टि मन्त्रीबाट हटाउनेमा भन्दा पनि १ जनालाई यथावत् राख्नेमा रहेको छ।

कार्यकारिणी समितिको बैठकमा छलफल हुँदा चारै जना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ ४ जनालाई पठाउने निर्णय भएको थियो । तर, अध्यक्ष यादवले पार्टीको निर्णयविपरीत ३ जनालाई मात्र मन्त्री बनाइएको यादवको गुनासो छ।

‘राजेन्द्र श्रेष्ठ मन्त्रीमा किन दोहोरिनुपर्‍यो ?’, यादवको प्रश्न छ । १ जना महिलालाई हटाएर अर्को महिला पठाउनुपर्नेमा त्यसमा पनि पार्टी नेतृत्व चुकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्