विश्वको चासो हङकङतिर : चीनले ‘आतंकवाद’ भनेको आन्दोलन इतिहासकै ठूलो



हङकङ : हङकङमा एक विधेयकको विरुद्धमा उठेको आन्दोलन दशौं हप्तासम्म पनि मत्थर भएको छैन । बरु झन् चर्किँदैगएको छ । यही सोमबार मात्रै यहाँका प्रदर्शनकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै छिरेर भव्य प्रदर्शन गरे ।

हजारौंको संख्यामा उत्रिएका प्रदर्शनकारीले नियमित उडान नै ठप्प पार्ने गरी प्रदर्शन गरेका छन् । विश्वभर सर्वाधिक ब्यस्तमध्ये एक विमानस्थल ठप्प हुँदा विश्वको चासो हङकङतिर तानिएको छ ।

यहाँका अधिकारीहरुका अनुसार आन्दोलन हिंसातर्फ उन्मुख छ । यतिसम्म कि, चिनियाँ सेनाले पटक पटक धम्की समेत दिँदैआएको छ । ‘परिचालित तथा प्रतिक्रियावादी शक्तिको आन्दोलन’ को संज्ञा दिँदै चीनले हङकङको आन्दोलन दबाउने चेतावनी दिँदैआएको हो ।

‘प्रो डेमोक्रेटिक’ नाम दिइएको यस आन्दोलनबारे अनेक टिप्पणी हुन थालेका छन् । प्रदर्शनकारीका माग प्रष्ट हुन नसक्दा र भिडन्त चर्किँदै जाँदा उनीहरुबारे बुझाइ पनि एउटै छैन ।

एउटा ‘न्यारेटिभ’ले यो आन्दोलन ‘पश्चिमा शक्तिबाट परिचालित’ भएको देख्छ । अर्को पक्ष छ, जसले लोकतान्त्रिक आन्दोलनको रुपमा व्याख्या गर्दैआएको छ । मूलतः हङकङमा सुपुर्दगी विधेयकलाई व्यवस्थापन गर्न नसक्दा आन्दोलन उठेको थियो । यस्तो समस्या यहाँकी कार्यकारी प्रमुख क्यारी लामले नै स्वीकार गरिसकेकी छन् ।

उक्त समस्या व्यवस्थापन गर्न नसक्दा असन्तुष्टि बढेको स्वीकार गर्दै सार्वजनिक रुपमै माफी समेत मागिन् । विधेयक खारेजीको माग लिएर उठेको आन्दोलनमा अन्य माग पनि थपिँदैगए । दोस्रो मागको रुपमा प्रदर्शनकारीहरुले कार्यकारी प्रमुख क्यारी लामको राजीनामा नै माग गरे ।

प्रहरीले गर्दैआएको दमन हटाउनुपर्ने उनीहरुको तेस्रो माग छ । चौथो मागको रुपमा प्रहरी गतिविधिमा सोधपुछ गर्न पाउने हक नागरिकमा हुनुपर्ने भनिएको छ । र पक्राउ परेका हरेक नागरिकलाई विनाशर्त मुक्त गरिनुपर्ने उनीहरुको पाँचौं माग हो ।

प्रदर्शनकारीका यस्ता मागसँगै सरकारले विधेयकको प्रक्रिया नै हटायो । कार्यकारी प्रमुखले त दुईपटकसम्म माफी मागिन् । स्थानीय मिडियाका अनुसार हङकङको इतिहासमै जनतासँग माफी माग्ने लाम पहिलो नेत्री हुन् ।

कार्यकारी प्रमुखले माफी माग्दै आन्दोलन शान्त भएपछि विधेयक खारेज गर्ने भनेपछि पनि विपक्षीहरुले आन्दोलन जारी राखेको अधिकारीहरु बताउँछन् । माफी मागेपछि आन्दोलन मत्थर हुनुको सट्टा झन् चर्को भएपछि कार्यकारी प्रमुख पनि पदबाट हट्ने शंकेत देखाएकी छैनन् । यससँगै बेलायतको उपनिवेशबाट मुक्त भएपछि हङकङमा यसैलाई सबैभन्दा ठूलो प्रदर्शन भनिएको छ ।

चीन भन्छ, ‘आतंकवाद’

चीनको विशेष क्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’को संज्ञा दिएको छ । पटक पटक चिनियाँ सेनाले प्रदर्शनकारीलाई ठाडै चेतावनी दिँदैआए पनि पछिल्लो पटक प्रदर्शन उत्कर्षमा पुगेपछि ‘आतंकवाद’को संज्ञा दियो ।

प्रदर्शनमा उत्रिएकाहरुलाई आइतबार दिनभर र सोमबार पनि प्रहरीले अश्रुग्यांस प्रहार गरे । स्थानीय मिडियाका अनुसार प्रदर्शनकारीले भने प्रहरीलाई पेट्रोल बम नै प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाले भने आन्दोलन अब छिट्टै निकर्षमा पुग्ने वा चीनले नयाँ निर्णय गर्नसक्ने टिप्पणी पनि गर्न थालेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्