अस्पतालको आडमा मौलायो ठगी, दुईमा तालाबन्दी



दिनेश्वर गुप्ता

लहान : सिरहाको लहानस्थित रहेको दुई स्वास्थ्य प्रतिष्ठानमा प्रशासनले तालाबन्दी गरेको छ भने पाँच पोलिक्लिनिकको आन्तरिक कक्षमा तालाबन्दी गरेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय सिरहा, इलाका प्रशासन कार्यालय लहान, पत्रकार, उपभोक्ता महासंघका प्रतिनिधिहरुको टोलीले अनुगमन गर्दा लिला मदन पोलिक्लिनिक एण्ड प्रसुति गृह लहानलाई खारेज हुने गरी बन्द गरिएको हो । 

लिला मदन पोलिक्लिनिकले दुई वर्षदेखि नविकरण नगराएर गर्भपतन, जटिल अपरेशनलगायतका विरामी भर्ना गरेर मोटो रकम असुली गर्दै आएको थियो । 

अवैद्य रुपमा सञ्चालन गरिएको सो लिलामदन पोलिक्लिनिकलाई नविकरण तथा सम्पूर्ण कर चुक्ता गर्न भन्दै इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले तालाबन्दी गर्न लगाएका छन् । 

अनुगमनकै क्रममा लहान ३ मा रहेको हिमालयन डेन्टल क्लिनिकमा समेत तालाबन्दी गरिएको छ । हिमालयन क्लिनिक कम्पनीमा मात्र दर्ता गरी सम्बन्धि निकायसँग इजाजत नलिएकोले तालाबन्दी गरिएको प्रशासन कार्यालयले जनाएको छ । 

मेरी गोल्ड, सेराज पोलिक्लिनिक, चाइल्ड हेल्थ केयर, त्रिशक्ति हेल्थ केयर, लहान एड्भान्स पोलिक्लिनिकलगायतका स्वास्थ्य प्रतिष्ठानमा अनुगमन गरिएको छ । अनुगमन टोली देखेपछि राधाकृष्ण डेन्टल क्लिनिकले सटर लगाएर  फरार भएका छन् । पोलिक्लिनिकहरुले प्रयोगशाला, एमसिएच सेवा, ईसिजी सेवा, एक्स–रे, परिवार नियोजन र बहिरंग सेवा अनिवार्य रुपमा चलाउनुपर्ने प्रावधान रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले बताए । 

डा.यादवले तोकिएको सेवा सुविधानभन्दा अतिरिक्त सेवा दिएका पोलिक्लिनिकका कक्षहरुमा समेत तालाबन्दी गरिएको छ । यिनीहरुलाई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाइने उने बताए ।  

सिरहामा ६५ पोलिक्लिनिक दर्ता रहेको छ । त्यसमध्ये पाँच वटाको नविकरण भएको छैन । उता, सिरहाका लहान लाइफ केयर अस्पताल, फ्रेन्डस् अस्पताल लहान, डिभाइन हेल्थ केयर अस्पताल लहान, सप्तऋषि नर्सिग होम लहान, कामना नर्सिग होम लहान ४, सगरमाथा मोडेल अस्पताल गोलबजार, माँ धमनी अस्पताल गोलबजार, रेखा नर्सिग केयर एण्ड डाइग्नोस्टिक सेन्टर मिर्चैयाको नविकरण समाप्त भएको पाँच वर्ष पुगेको छ । 

अवैद्य रुपमा सञ्चालन रहेको यि निजी अस्पताललाई केही महिना अघि अनुगमन गरी तालाबन्दी गरिएको थियो । नविकरण गर्न यस्ता निजी अस्पताललाई सात दिनको अल्टीमेटम दिएका थिए । तर, हालसम्म नविकरण नहुँदा सरोकारवालाहरुको मिलोमतोमा अवैद्य रुपमै पुनः सञ्चालनमा रहेको छ । 

२०७० यता देशभरकै अधिकांश निजी अस्पतालको नविकरण रोकिएको छ । अस्पताल खोल्ने मापदण्ड पूरा गरेका केही अस्पताललाई मात्र नविकरण गरिएको छ । 

मेरी गोल्डमा नजन्मिदै बच्चाको मृत्यु 

लहान ३ स्थित रहेको मेरी गोल्ड पोलोक्लिनिकले डेलेभरी गराउँदा नजन्मिदै एक बच्चाको मृत्यु भएको छ । पोलोक्लिनिकमा डेलेभरी गर्ने इजाजत नदिएपनि स्वास्थ्यकर्मी चन्दन साहको निर्देशनमा यस्ता कार्य हुँदै आएको छ । साउन २६ गते सिरहाको मिर्चैयाबाट आएकी एक महिलाको अपरेशन गरी बच्चा निकाल्न खोज्दा पेटमै बच्चाको मृत्यु भएको थियो । 

उता, महिलाको अवस्था गम्भिर छ । थप उपचारको लागि विराटनगर पठाइएको छ भने आजसम्म १२ पाउण्ड ब्लड महिलालाई चढाइएको छ । यता, अपरेशनमा संलग्न एक महिला स्वास्थ्यकर्मीलाई सोधपुछको लागि इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । मेरी गोल्डमा भएको यस्तो घटनाको बारेमा अनुगमन टोली मौन छ ।

 

प्रतिक्रिया दिनुहोस्