नेकपा एकताः तल्लो तहमा अझै एमाले र माओवादी नै सक्रिय



काठमाडौं : पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् ।

तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन् । यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो ।

केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन् । तिनको बैठक नै बस्न छाडेको छ । यी दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो हुन् । पाँच महिनामा स्थायीका दुई र केन्द्रीय कमिटीको एउटा बैठक बसेका छन्, औपचारिकताका लागि मात्र । 

स्थायी कमिटी बैठक पटकपटक बोलाउँदै स्थगन गरिएको छ । बैठकै नगर्ने प्रवृत्ति बढेको भन्दै अध्यक्षद्वयप्रति पार्टीभित्रै आक्रोश बढ्न थालेको छ । वरिष्ठ नेता झलनाथ खनालले आइतबार झापाको एक कार्यक्रममा तत्काल स्थायी कमिटी बैठक माग गरे ।

अधिकांश नेता बैठक नबसेकामा असन्तुष्ट छन् । ‘पार्टीभित्र संगठनात्मक अन्योल छ,’ स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने, ‘सरकार र पार्टीबीचको सम्बन्ध नै टुटेको छ, यसले सरकारका कामलाई पनि फाइदा भएको छैन ।’

असारमा बसेको स्थायी कमिटी बैठकमा नेताहरूले सरकारका कामकारबाही समीक्षा गर्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसपछि उक्त प्रस्तावअनुसारै बैठक डाकिए पनि पटकपटक स्थगित हुँदै आएको छ। कहिले बस्ने, अझै टुंगो छैन ।

एकतापछि प्रदेशको नेतृत्व तोक्ने काम मात्र भएको छ । प्रदेश, जिल्ला कमिटी बनाउने, सबै तहको एकीकरणको अन्तिम स्वरूप तयार गर्ने काम अल्झेको अल्झै छ ।

एकतासम्बन्धी प्रस्ताव तयार पार्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदल बनाइएको छ । कार्यदलले सबै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसँग छलफल गरे पनि अन्तिम प्रस्ताव दिन सकेको छैन ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी नेताहरूले सरकारका कामको बचाउ नगरेको गुनासो पटकपटक गर्दै आएका छन् । अन्य नेताहरूले सरकारको कामको स्वामित्व लिन पार्टीभित्र छलफल र पार्टीको निर्णयअनुसार सरकार चल्ने वातावरण तयार हुुनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिने गरेका छन् ।

कम्तीमा स्थायी र केन्द्रीय कमिटी क्रियाशील हुँदा पनि सरकारलाई धेरै सहयोगको वातावरण बन्ने स्थायी कमिटी सदस्य पौडेलको भनाइ छ । केन्द्रीय कमिटी ४ सय ४५ सदस्यीय छ । स्थायी कमिटीमा ४५ सदस्य छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्