अर्थतन्त्र संकटमा फसेको कुरामा कुनै सत्यता छैन : सञ्चारमन्त्री



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भईरहेको छ भन्ने भनाईमा कुनै सत्यता नरहेको बताएका छन ।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गईरहेको छ भनेर भ्रममा पार्ने कोशिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहोर्‍याए ।

मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दावी समेत गरेका छन । उनले भने, ‘नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गईराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ । त्यो हल्लामा कुनै सत्यता छैन । त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत होऊ । तर मुलुकको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदैछ भन्ने कुराको भ्रममा नपर्नका निमित्त म सबैलाई आग्रह गर्न चाहन्छु । मुलुकको अर्थतन्त्रमा चुनौतिहरु छन । ती चुनौतिहरुलाई हामीले सामना गर्नु पर्दछ । हाम्रो अर्थतन्त्र संकटपूर्ण होइन, चुनौतिपूर्ण होइन् । हाम्रो अर्थतन्त्र सवल अर्थतन्त्रको रुपमा, गतिशील अर्थतन्त्रको रुपमा, लय पक्रेको अर्थतन्त्रको रुपमा अगाडि बढन सक्दछ । हाम्रो यो अर्थतन्त्रलाई मजदुत बनाउनका निमित्त हामीले एकताका साथ दूरदृष्टि राखेर अगाडि बढयौ भने हाम्रो अर्थतन्त्र सवल हुनेछ ।’

मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस्