ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने नारायणकाजीको दाबी



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने दाबी गरेका छन् ।

नेपालको अवस्थामा अहिल्यै त्यस्तो नभए पनि स्वार्थी राजनीतिको बोलवाला, कूशासन, भ्रष्टाचारले ढिलोचाँडो श्रीलंकाकै बाटोमा पुर्‍याउने उनले बताए ।

उनले सामाजिक सञ्जालमार्फत् सचेत हुन र यथास्थिति तोड्न सकारात्मक धक्कायुक्त हस्तक्षेको जरुरत रहेको औंल्याएका छन्।

‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं। यो सही नै हो। तर तीतो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मूल्यविहीन भ्रष्ट-स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्कोरुपमा पुर्‍याउने त्यतै हो। सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौं,’ उनले लेखेका छन्।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि त्यहाँका जनताले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। शनिबार उत्रिएको जनसागरले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय कब्जामा लिएका थिए। श्रीलंकन नागरिकहरु सडक उत्रिएर राष्ट्रपति र प्रधानमन्त्री निवासमै छिरेपछि उनीहरु सुरक्षित स्थानतर्फ भागेका थिए।

शनिबार बेलुका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका थिए। आगजनीमा संलग्न तीन जनालाई प्रहरी पक्राउ गरे पनि त्यहाँ जनताहरुले सहज जीवनयापनको माग गर्दै विरोधमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्