उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, लगानी विस्तार गर्न जोड



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

राजदूत श्रीवास्तवले विगतदेखि नै नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै ऊर्जा विकास, पारवहन तथा पर्यटन प्रवर्द्धनलगायतका विषयमा दुई देशबीच सहकार्य गरी द्विपक्षीयसम्बन्धलाई थप सुदृढ गर्न सकिने बताए । त्यसैगरी उनले पेट्रोलियम तथा एल।पि।जी। ग्यासको पाइपलाईन विस्तार, खाद्य परीक्षण प्रयोगशाला निर्माण, पश्चिम सेती जलविद्युत आयोजनालगायत आर्थिक तथा व्यापारिक क्रियाकलापसँग जोडिएका पारस्परिक लाभका विषयमा भारतले नेपालसँग थप सहकार्य गर्न चाहेको धारणा राखेका थिए ।

श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने उल्लेख गर्दै मन्त्रीबाट सहयोग र समन्वयको अपेक्षा गरेको बताए ।

मन्त्री बडूले राजदूत श्रीवास्तवलाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले भारतसँग नेपालको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग र सहकार्यबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न सकिने विचार व्यक्त गरेका थिए ।

शिक्षा, स्वास्थ्य, ग्रामीण विकास तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमार्फत नेपालको विकासका लागि प्राप्त भइरहेको सहयोगका लागि भारत सरकारलाई मन्त्री बडूले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्