सामाचकेवा पर्व शुरु



जनकपुरधाम : मिथिलाञ्चलमा दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व विधिवत रुपमा शुरु भएको छ । 

कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । 

यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पुर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । 

काँचो माटोबाट बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ । 

भगवान कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाई साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो । 

यो पर्व मैथिली र थारु समुदायकी महिलाहरुले मनाउने गर्दछन् । ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केहि कमी आएको महशुस गर्न थालिएको छ । 

भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन्, भगवान कृष्ण आवशेमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए । 

सामाको भाइ साम्बले जव यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गरे । 

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अवदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । 

यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन र त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, झुठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङ्गले रंग्याउने काम गरिन्छ । 

यस पर्वमा सवैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशसाका साथै आशिष दिने खालका सामा गीत गाउनु हो । सोही क्रममा आपूmलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्ने चलन छ । 

यस पर्वमा विभिन्न प्रकारका सयौं लोकगीतहरु गाउने गरिन्छ । गीतको माध्यमबाट दिदीबहिनीले दाजुभाइलाई सुखदुःख सुनाउने र उपभोग्य वस्तुहरुको पनि माग गर्ने गर्दछन् । 

आ–आफ्ना आँगनमा त्यस्ता गीत गाएर सो पर्व समापनका लागि महिलाहरु बाँसको टोकरीमा माटोबाट बनाइएका मूर्तिलगायत पुजा सामाग्री बोकेर गीत गाउँदै चौबाटो, खुल्ला चौर वा फुलबारीमा पुग्ने गर्छन् । सम्पूर्ण टोलकी महिलाहरु एक ठाउँमा भेला भएर पर्वको अन्तिमरुप दिने गर्छन् । 

सो अवसरमा सवैभन्दा पहिले भाइले सामा फोडेपछि चुगला र बृन्दावन जलाइन्छ । एक अर्कासँग मूर्तिहरु साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ । 

यस पर्वमा प्रसादको रुपमा नयाँ धानको चिउरा, दही, मिठाइका साथै नयाँ धानको बाला समेत राख्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्