बेसीशहर नगरपालिका बन्यो पशु पूर्णखोपयुक्त पालिका



लमजुङ । बेँसीशहर नगरपालिकालाई पशु पूर्णखोपयुक्त पालिका घोषणा गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङद्धारा बुधबार आयोजित कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले पशु पुर्णखोपयुक्त पालिका घोषणा गरेका हुन्।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बेसीशहरका ३२ हजार ९ सय ७० पशुहरूमा विभिन्न प्रकारका खोप लगाइएको बताए। बेँसीशहर नगरपालिकामा मात्रै ३७ हजार ९ सय ६३ पशुपालन हुँदै आएको तथ्याँक छ। जसमध्ये ८६ दशमलव ८ प्रतिशत पशुमा विभिन्न प्रकारको खोप लगाइसकिएको छ।

बेँसीशहरमा १ हजार ७ सय ५५ गाई गोरु, ४ हजार ३ सय ९ भैंसी, २४ हजार ७ सय २७ भेडा बाख्रा, ९ सय ४९ बुंगुर, १ हजार २ सय ३० कुकुर बिरालोलाई खोप लगाएको कार्यालयको तथ्याँक छ।

अघिल्लो आर्थिक वर्षबाट जिल्लाका २ स्थानीय तहमा पशु पुर्ण खोप कार्यक्रम सञ्चालन भएकोमा बेसीशहर नगरपालिकामा अघिल्लो र चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालन भएको हो। गत आर्थिक वर्षमा बेँसीशहरसँगै मध्यनेपाल नगरपालिकामा पनि यो कार्यक्रम सञ्चालन भएको थियो। मध्यनेपाल नगरपालिकालाई ३२ असारमा पशु पुर्णखोप युक्त पालिका घोषणा गर्न तयारी भएको छ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षबाट सुन्दरवजार नगरपालिकामा पनि कार्यक्रम कार्यन्वयनमा ल्याएको हो। सुन्दरवजार नगरपालिकालाई पनि केही दिनमा मिति तय गरी पशु पुर्ण खोप पालिका घोषणा गर्ने कार्यालयको तयारी छ।

प्रतिक्रिया दिनुहोस्