अक्सिजन प्लान्टको टहराे कमसल बनेपछि रकम कटाएर भुक्तानी



खोटाङ । जिल्ला अस्पताल खोटाङमा रहेको अक्सिजन प्लान्ट राख्ने टहरो कमसल बनाएको भन्दै रकम कटाएर भुक्तानी गरिएको छ । प्रदेश सरकारको एक करोड ११ लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको टहरो निकै कमजोर बनेको पाएपछि १० लाख कटाएर बाँकी रकम भुक्तानी दिएको हो ।

टहरो निर्माणका क्रममा लाग्ने अनुमानित रकम बराबर रोक्का राखेर एक करोड एक लाख रकम २४ असारमा भुक्तानी दिएको अस्पतालका आर्थिक अधिकार प्रमुख विमलदेव यादवले बताए ।

जिल्लामै अक्सिजन उत्पादनका लागि जडान गरेको उपकरण जडान सही देखिए पनि ट्रस भने कमसल बनेपछि विरोध भएको थियो । अक्सिजन प्लान्टजस्तो महत्वपुर्ण उपकरण रहने टहरो ‘क्वालिटी’को नबनेपछि १० लाख बाँकी राखेर अरु भुक्तानी दिन लगाएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए । भुक्तानी रोकिएपछि मुन रक्स इन्टरनेशनल प्रालिले जस्ता फेर्ने, पर्खाल प्लाष्टर गर्ने लगायतका काम सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्