कांग्रेस बैठक : देउवाको ‘हाईहाई’



काठमाडौं । नेपाली कांग्रेस स्थानीय तहमा पहिलो दल भएपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको ‘हाईहाई’ भएको छ। जारी केन्द्रीय समिति बैठकमा बोल्ने धेरै नेताहरूले ५ दलीय गठबन्धनबीच तालमेल गरेर भए पनि पार्टीलाई स्थानीय तहमा पहिलो बनाएकामा देउवालाई धन्यवाद ज्ञापन गरे।

उनीहरूले आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि गठबन्धन दलहरूबीच अनिवार्य तालमेल गरेर पार्टीलाई बहुमतसहित जिताउन सभापति देउवालाई सुझाए। पार्टीका पूर्वउपसभापतिसमेत रहेका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले देउवा नेतृत्वको सरकारले गरेको निर्वाचनमा जाँदा पार्टी पहिलो बन्नुलाई ठूलो सफलता मान्नुपर्ने बताए। उनले बैठकमा भने, ‘पार्टी १ नम्बर बनाउनुभएकोमा सभापतिजीलाई बधाई दिन चाहन्छु। यो ठूलो सफलता हो।’

कांग्रेसलाई सङ्घ र प्रदेशमा बहुमत दिलाउन आवश्यक रहेको नेता श्रेष्ठले बताए। बहुमतका लागि भने ५ दलीय गठबन्धनबीच स्थानीय तहमा जसरी तालमेल अनिवार्य हुने उनको भनाइ छ। ‘आगामी सङ्घीय संसद् र प्रदेश संसद्को निर्वाचनमा गठबन्धन हुनुपर्छ, भइहाल्छ पनि। राम्रोसँग तालमेल गर्नुहोस्। कांग्रेसलाई बहुमतमा फेरि ल्याउनुपर्छ । त्यसका लागि तपाईंलाई शुभकामना’, बैठकमा श्रेष्ठले भने।

उनले देशको अर्थतन्त्र डामाडोल भएको, त्यसको कारकमध्ये राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि रहेका र उनलाई बर्खास्त गर्न माग गरेका छन्। नेपाल प्रहरीका लागि हतियार नकिन्न, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पूर्वउपाध्यक्ष, अर्थ सचिव र अर्थशास्त्रीसँग अर्थतन्त्र जोगाउनेबारे राय लिन, मन्त्री, सांसद, स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र जिल्ला समन्वय समितका प्रमुख/उपप्रमुखको पारिश्रमिक अर्थतन्त्रमा सुधार नहुञ्जेल आधा कटौती गराउन पनि देउवाको बैठकमा ध्यानाकर्षण गरे।

बैठकमा श्रेष्ठले जसरी सभापति देउवाको प्रशंसा गर्दै सुझाउने अर्का केन्द्रीय सदस्य हुन्– विमलेन्द्र निधि। पार्टीका निवर्तमान उपसभापतिसमेत रहेका उनले स्थानीय तहमा पहिलो पार्टी भएकोमा देउवालाई बधाई दिए। सरकारले १ वर्ष सफलतापूर्वक पूरा गरेको भन्दै उनले शुभकामना पनि दिएका छन् । तर, स्थानीय तह निर्वाचनमा समस्याहरू देखिएका र आगामी २ तहका निर्वाचनमा समस्या पहिले नै समाधान गरेर जान देउवालाई उनको सुझाव छ ।

निर्वाचनमा टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गरेका नेता, कार्यकर्ता र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेकाहरूलाई पार्टीमा फर्काउन माग गरे। ‘आगामी दुवै तहका निर्वाचनमा कांग्रेस बहुमत प्राप्त पार्टी बन्नुपर्छ। तर, स्थानीय तह निर्वाचनमा जस्तो समस्या हुनुभएन’, उनले बैठकमा भने, ‘स्थानीय निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट भएर स्वतन्त्रबाट जितेका छन्, उनीहरूलाई पनि पार्टीमै फर्काउनुपर्छ ।’

केन्द्रीय सदस्य सुजाता परियारले गठबन्धन दलहरूबीच तालमेल गरेर गौरवका साथ देशको पहिलो पार्टी नेपाली कांग्रेस भन्न सकिएको बताएकी छन् । उनले सभापति देउवासहित निर्वाचनसँग सम्बन्धित विभिन्न समितिका संयोजक र सदस्यहरूलाई पनि धन्यवाद ज्ञापन गरिन् ।

‘सम्माननीय प्रधानमन्त्री तथा सभापतिज्यू, केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक पूर्णबहादुर खड्का, समिति सदस्यहरू, निर्वाचन प्रचारप्रसार समिति संयोजक तथा प्रवक्ता डा. प्रकाशशरण महत, उक्त समितिका सदस्यहरूसँगै निर्वाचनमा खटिने सबै कांग्रेसजनप्रति हार्दिक धन्यवाद र आभार प्रकट गर्छु । हाम्रो पार्टीलाई गौरवका साथ पहिलो पार्टी भन्न पाएका छौँ’, परियारले भनिन् ।

उनले आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा पनि कांग्रेसलाई बहुमतसहित पहिलो दल बनाउन गठबन्धन दलहरूबीच तालमेल हुनुपर्नेमा जोड दिएकी छन् । तर, पहिले पार्टीको आन्तरिक समस्याहरूलाई समधान गर्नुपर्ने र भ्रातृसँगै शुभेच्छुक सङ्गठनहरूलाई पूर्णता दिँदै चलायमान बनाउनुपर्ने बताइन् ।

बैठकमा पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले पनि गठबन्धनका कारण कांग्रेस पहिलो भएको र देउवालाई बधाई ज्ञापन गरे। तर, आगामी २ तहका निर्वाचनमा गठबन्धन हुनुपर्छ भनेर अहिल्यै निर्णयमा भने पुग्न नहुने सिटौलाले बताए।

केन्द्रीय सदस्यहरू डा. नारायण खड्का, उमेश श्रेष्ठसहित बिहीबार बोलेका २३ मध्ये १५ जनाले स्थानीय निर्वाचनमा कांग्रेसलाई ठूलो सफलता मिलेको भन्दै प्रशंसा गर्दै देउवालाई सुझाव दिए। यसअघि बुधबार र मङ्गलबार पनि अधिकांश केन्द्रीय सदस्यहरूले देउवाको पक्षमा बोलेका थिए।

वर्तमान केन्द्रीय समितिमा देउवा अर्थात् संस्थापन पक्षको करिब ८२ प्रतिशत हिस्सा छ । सोही कारण देउवाको प्रतिरक्षा गर्दै उनलाई ‘हाईहाई’ गर्नेहरू केन्द्रीय समिति बैठकमा बढी भएका हुन्। देउवाको भूमिका र कार्यशैलीको विरोध गर्नेहरू भने डा. शेखर कोइराला खेमाका हुन्।

यस खेमाका केन्द्रीय सदस्यहरू कम छन् । तर, उनीहरूबाट देउवा निरङ्कुश बन्न खोजेकोसम्मका आरोप लाग्दै आएको छ। बिहीबार बैठकमा बोलेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देउवा निरङ्शुक बन्न खोजेको र त्यसले क्षति पुग्ने चेतावनी दिए। १२ बुँदे लिखित मन्तव्य दिएका केसीले भनेका छन्, ‘पार्टीको आदरणीय सभापति पद सबै दृष्टिकोणले सबल र सक्षम हुनुपर्ने हामी सबैको चाहना हो तर पार्टीको विधान र पद्धति लत्याएर निरङ्कुश बन्न खोजे क्षतिग्रस्त हुन्छ।’

उनले देउवामा नेकपा एमालेका अध्यक्ष केपी ओलीमा जसरी शक्तिको भोग जागेको कडा टिप्पणी गरे । यदि होइन भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएका सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान र राजस्व अनुसन्धान विभागलाई हटाउन माग गरे।

अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले त स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने वा स्वतन्त्र उठेकाहरूलाई छानबिन गरी कारबाही गर्नुपरे सबैभन्दा पहिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारबाही हुनुपर्ने जिकिर गरेका छन् ।

बैठकमा राप्रपाबाट कांग्रेसमा आएका नेता सुनिलबहादुर थापाले भने पार्टीमा आफूलाई विश्वास गरेर आएका नेताहरूलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। निवर्तमान उपसभापति विजयकुमार गच्छदारले पनि सभापति देउवाले आफ्नो योगदान बिर्सेको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्