गर्मीले जनजीवन अस्तव्यस्त



महोत्तरी । मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन्। जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ।

दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा. प्रदीपकुमार साह बताउछन्। मौसम परिवर्तन हुँदा बिरामीको सङ्ख्या बढेको उनले बताए। अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ।

पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा बिरामी हुने क्रम बढेको डा साहको भनाइ छ। अत्यधिक गर्मीका कारण सर्पको बिगबिगी समेत बढेको छ। यही साता बर्दिबास–३ स्थित सर्पदंश उपचार केन्द्र गौरीडाँडामा उपचार लिन आएका दुई सर्पदंशका बिरामीको उपचार सम्भव नभएपछि अन्यत्र पठाउँदा बाटोमै मृत्यु भयो । गर्मीकै कारण लामखुट्टे पनि ह्वात्तै बढेका छन्।

ज्वरो,टाइफाइडलगायतका बिरामी बढेको बर्दिबास अस्पतालका चिकित्सक डा. किशोर अधिकारी बताउछन्। अत्यधिक गर्मीले बालबालिकामा खटिराको समस्या देखिएको छ । महोत्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ।

घामसँगैको तातो हावाका कारण सर्वसाधारण काम गर्न निस्कन छाडेका छन्। घाममा बाहिर ननिस्कन, जीउ ढाक्ने लुगा लगाउन, सफा र स्वच्छ पानी खान तथा ताजा र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्