गोरखा अस्पताल : विशेषज्ञ सहितको सेवा सुविधा थप, शल्यक्रिया पनि हुने



गोरखा । गोरखा अस्पतालले अहिले सेवा सुविधामा उल्लेख्य थप गरेको छ। अस्पतालले नयाँ सुविधा सम्पन्न भवनमा सरेसँगै विगतमा भन्दा थप गुणस्तरीय विशेषज्ञ डाक्टरसहित विस्तारित सेवा सुरु गरेको हो।

‘अहिले हामीले अस्पतालमा ओपिडि सेवामा प्रसूति तथा स्त्री रोग, शल्यक्रिया, बालरोग, मनोचिकित्सक, एनेस्थेसियोलोजिस्ट, सर्जरी, दन्त, सर्जरी लगायतका सेवा थप गरेका छौँ। यस्तै हर्निया, एपेन्डिसाईट, अण्डकोषमा पानी भरिएको लगायत बिभिन्न रोगको शल्यक्रिया पनि भईरहेको छ’, गोरखा अस्पताल प्रमुख मेसु हरीकुमार श्रेष्ठले भने।

अस्पतालमा अहिले गुणस्तरीय ल्याब सेवा रहेको उनी बताउँछन्। ‘ल्याब सेवालाई बिस्तार गर्दै गुणस्तरीय बनाउन हामीले नयाँ मेसिन खरीद गरेर यही साउनदेखि थप सेवा दिनेछौँ। त्यो उपकरण आएपश्चात विगतमा भन्दा छिटो र थाइराईट सेवा, अन्य बिभिन्न हर्मोनहरुको पनि परिक्षण सुरु हुनेछ’, श्रेष्ठले भने। अस्पतालले अहिले डायलसिस सेवा, थाइराड टेष्टका साथै जेरियाटिक र कल्चर सेवा समेत सुरु गरेको छ।

हाल अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ तथा कर्मचारीहरुको पदपुर्ति नहुँदा सेवाप्रवाहमा समस्या हुने गरेको उनी बताउँछन्। ‘दरबन्दी अनुसारका कर्मचारी नहुँदा हामीले जति सेवा दिन सक्थ्यौँ त्यो दिन सकेका छैनौँ। तर, हामी जति छौँ, भएका कर्मचारीहरुले ड्युटीटाईम मिलाएर सेवाग्राहीलाई उच्चतम सेवा दिईरहेका छौँ’, उनले भने।

अस्पतालमा गत फागुन १ गतेदेखि विस्तारित स्वास्थ्य सेवालाई पनि निरन्तरता दिईएको छ। हालसालै अस्पतालमा भर्ना भएर बसेका बिरामीहरुका लागि पनि बिशेष सेवासुविधा सहितको वेडको पनि ब्यवस्था गरेको छ।

श्रेष्ठ गोरखा अस्पताल प्रमुख भएर नेतृत्व गरेको करिब १ वर्ष हुन लाग्यो। यस बीचमा उनले यहाँ थुप्रै सेवाहरु बिस्तार गर्नेदेखि विशेषज्ञ तथा कर्मचारीहरु पदपुर्तिका लागि पनि पहल गरिरहेका छन्। उनको नेतृत्व पछि अस्पतालको सेवा थप तथा गुणस्तरीय भएको स्थानीयहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्