१५ गतेबाट प्रदेश १ को नामाकरण प्रक्रिया सुरु हुने सम्भावना



विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् ।

साउन ८ गतेबाट प्रदेशसभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उनले उल्लेख गरेका हुन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुनसक्ने सुरक्षा चुनौतीबारे सजग रहन पनि आग्रह गरे। प्रदेश नामकरणका लागि प्रदेश सभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकबाट एउटा खाका आउनसक्ने उनले उल्लेख गरे ।

‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भने, ‘मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला।’ उनले उक्त सर्वदलीय बैठकपछि साउन ८ गतेबाट प्रदेशसभाको बैठक सुरु हुने र साउन १५ गतेको आसपासमा नामकरणको प्रक्रिया सुरु हुने कुरालाई दोहोर्‍याए ।

उनले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेशसभाको भएको उल्लेख गर्दै सरकारले यसमा सहजीकरणमात्रै गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्