सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको छ : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको बताएका हुन् ।

विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको ओलीको भनाई छ । उनले समयमा निर्वाचन हुनुपर्ने भन्दै त्यो निर्वाचनबाट राष्ट्रवादी सरकार बन्नुपर्ने बताएका छन् ।

उनले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन बैशाखमा गरिएको त्यो पनि एमालेको दवावले मात्रै सम्भव भएको उल्लेख गरेका छन् ।

सरकार सञ्चालकहरु अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको ओलीको भनाई छ ।

उनले आफ्नो नेतृत्वको सरकार भएका बेला सम्बृद्धि र विकासको लय समाते पनि गठबन्धन सरकार बनेपछि त्यो बिग्रेकाले आगामी निर्वाचनपछि देशलाई सम्बृद्धि र विकासका उदेश्य प्राप्त गर्नेगरी बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्