हेटौंडामा चिट खोज्न महिनावारी भएकी छात्राको प्याड खोल्न लगाएपछि…



काठमाडौं । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडास्थित पुरानो शैक्षिक संस्था हेटौंडा क्याम्पसमा स्नातक तह दोस्रो वर्षको परीक्षा दिन पुगेकी २ छात्रालाई भित्री वस्त्र मात्र होइन, महिनावारी हुँदा लगाइएको प्याडसमेत खोल्न लगाइएको पाइएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसको परिक्षा केन्द्र हेटौँडा क्याम्पसमा पर्ने गर्दछ । दुर्व्यवहारमा परेका २ छात्राहरु पनि मकवानपुर बहुमुखी क्याम्पसकै रहेको खुलेको छ।

त्यही घटनाले बुधबार हेटौँडा क्याम्पसमा हुलदंगा भएको छ। अकस्मात २ सय जनाको हाराहारीमा मकवानपुर बहुमुखी क्याम्पसबाट आएका विद्यार्थीले हेटौँडा क्याम्पसमा नाराबाजी सुरु गरेका हुन्। भीड आक्रोशित बनेपछि हेटौँडा क्याम्पसका सिसाहरुमा हानेर क्षति पुर्‍याइएको छ ।

क्याम्पसमा खटिएका सुरक्षाकर्मी र विद्यार्थीबीच धकेलाधकेल भयो। प्रहरीले भीडलाई उत्तेजित पार्ने ४ जना विद्यार्थीलाई नियन्त्रणमा लिई हेटौँडा क्याम्पसकै एउटा कोठामा राखेको थियो। यसरी हेटौँडा क्याम्पसमा अत्यन्तै क्रुर ढंगले शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेपछि उक्त घटनाबारे सामाजिक सञ्जालहरुमा ब्यापक आलोचना भएको छ।

आलोचनापछि घटनासँग सम्बन्धित २ छात्राका अभिभावक, क्याम्पस सञ्चालक समिति अध्यक्ष मुनु सिग्देल, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर र सबै विद्यार्थी संगठनका नेताहरु बसेर घटनाबारे छलफल गरेका छन्। छलफलबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको क्याम्पस प्रमुख मानन्धरले बताए।

नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, एमाले अनेरास्ववियुका नेताहरु सन्तोष पौडेल, भुवन मैनाली, समाजवादी अनेरास्ववियुका नेताहरु अरुण बर्तौला, आकाश अधिकारी, अनेरास्ववियु क्रान्तिकारीका रामकृष्ण शिवाकोटी, विप्लव निकट विद्यार्थी संगठनका विवेक घलानलगायतका नेताहरु छलफलमा जुटेका हुन्। सर्वपक्षीय छलफलबाट समस्याको समाधान खोज्ने पहल भएपनि ती शिक्षकलाई कारबाहीको माग गरिएको छ।

यता, हेटौँडा क्याम्पसले एक विज्ञप्ति जारी गर्दै पीडित पक्ष, अभिभावक र विद्यार्थी संगठनहरुसँग समेत बसी छलफल भइरहेको र समाधान निकाल्ने प्रयास भइरहेकाले संयमता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्