३ नेताको झमेलामा वाम एकता



काठमाडौं । ‘वामपन्थी कोही छौ भने गठबन्धन छोड र आऊ’, यो देशकै ठूलो वामपन्थी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माको आह्वान हो।ओलीको यो आह्वानको जोड वामपन्थी दलहरूबीचको एकतामा छ। वाम आन्दोलन मजबुत बनाउने राजनीतिक लक्ष्यतर्फ केन्द्रित छ।

४ महिनापछि सङ्घ र प्रदेश संसद् चुनाव हुने चर्चा पनि छ। सरकारले चुनावको मिति घोषणा गर्न भने बाँकी छ। चुनावअघि नै एकथरि वामपन्थी नेताहरू भने वाम गठबन्धनको प्रयासमा जुटेका छन्। गठबन्धनपछि उनीहरूको लक्ष्य वाम एकता हो। गठबन्धन र एकताको पक्षमा घनीभूत छलफल गरिरहेका नेताहरू हुन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ।

पछिल्लो पटक यी नेताहरू मङ्गलबार छलफलमा जुटे। सार्वजनिक भएका विवरणहरूलाई आधार मान्दा यी नेताहरू प्रारम्भिक चरणमा एमालेबाहेकका वामपन्थीहरूको गठबन्धन चाहन्छन् । उनीहरूले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कारबाही गर्दै पार्टी निकाला गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि गठबन्धनमा जोड्ने प्रयास गरिरहेका छन् ।

यी घटनाक्रमले वाम गठबन्धन बन्ने अड्कल भइरहँदा देशकै ठूलो वामपन्थी दल एमालेका अध्यक्ष ओलीबाट भने बुधबार वाम एकताको आह्वान भएको हो। तर, परिपक्व एकता हुनुपर्ने उनको धारणा छ। गत २७ असारमा सम्पादकहरूसँग उनले भनेका थिए, ‘डिभोर्स सक्कली हुन्छ। बिहे नक्कली। एमाले नक्कली बिहेका लागि सक्कली डिभोर्स गर्ने पक्षमा छैन।’

उनका दलका १ जना सचिव योगेशकुमार भट्टराईले मङ्गलबार माओवादी र एकीकृत समाजवादीलाई एकतामा आउन आह्वान गरे। तत्कालीन नेकपा विघटनपछि एमाले–माओवादी ब्युँतिएर राजनीतिक दुश्मनीपूर्ण व्यवहार भएको अवधिलाई इतिहासको कालो वर्षको रूपमा छाड्नुपर्ने उनले बताए।

एमालेभित्र वैचारिक नेताको छबि बनाएका नेता घनश्याम भुसाल त एकताको पक्षमा पहिलेदेखि नै उभिएका नेता हुन्। नेकपा विघटन हुनुमा आत्मालोचना गरेर एमाले, माओवादी, एकीकृत समाजवादीसँगै अन्य वामपन्थी दलहरूबीच एकता प्रक्रियामा अगाडि बढाउन ओली, प्रचण्ड, माधवलगायत नेतालाई उनको दबाब छ।

उनले नेकपा विघटन हुनुमा आफ्नो पनि संलग्नता रहेको स्वीकार्दै आत्मालोचना गरिसकेका छन् ।एमाले अध्यक्ष ओलीलाई मञ्चमा राखेर माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि नेकपा विघटन हुनुमा आत्मालोचना गरे। ओली र प्रचण्डसहित नेता नेपाललाई पनि गल्ती भएको भन्दै आत्मालोचना गर्न उनको सुझाव थियो । हालै नेता वामदेव गौतमले पनि आत्मालोना गरेका छन् ।

गत जेठमा विनियोजन बजेटमाथिको छलफलमा सहभागी हुँदै माओवादी अध्यक्ष प्रचण्डले २ चोटि संसद् विघटन गरेको घटनामा ओलीबाट आत्मालोचनाको अपेक्षा गरेका थिए। तर, ओलीले बजेटमाथिको छलफलमा धारणा राख्ने क्रममा नेकपा विघटनप्रति आत्मालोचना गरेनन्। त्यसपछि प्रचण्डले ओली आत्मालोचित नभएको तर धेरै एमालेका नेता, कार्यकर्ताहरूसँग काम गर्न सहकार्य गर्न सहज हुने बताएका थिए।

माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेलले ओलीले आत्मालोचना गर्दा गठबन्धन र एकतासम्मको ढोका खोलिने बताए। ‘एमाले अध्यक्ष ओलीजीले हिजोका गल्तीहरूको महसुस गुर्नभयो भने र अहिलेको गठबन्धन ब्रेक गरेर आउनू भन्ने कुरा छ नि, अनि हुन्छ’, पोखरेलले द नेपालटपसँग भने ।

३ असोज २०७२ मा जारी संविधानले नै समाजवादको परिकल्पना गरेको छ, जसलाई वामपन्थी पार्टीहरू सफलताको रूपमा लिन्छन् । ती पार्टीहरू वैज्ञानिक समाजवादको पक्षमा छन् । माओवादी नेता पोखरेल थप्छन्, ‘वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न प्रजातान्त्रिक समाजवाद र पुँजिवादको हिमायती दल कांग्रेससँग निर्वाचनमा सहकार्य गरेर सम्भव छैन । त्यसका लागि त वाम ध्रुवीकरण नै चाहिन्छ ।’

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि बृहत् वाम ध्रुवीकरण गरेर नेपाली वाम आन्दोलनलाई मजबुत बनाउँदै समाजवादको आधार निर्माणको दिशामा केन्द्रित हुनुपर्ने बताउँछिन् । वाम ध्रुवीकरणका लागि उनले पनि नेताहरूले गल्ती भएको आत्मालोचना गर्नुपर्नेमा उनी जोड दिन्छिन् । ‘नेताहरूले गल्ती भएकै हो हिजो । गल्तीप्रति हामी आत्मालोचित छौँ भन्नै पर्छ’, उनले भनिन्, ‘यति हुँदा फेरि वाम ध्रुवीकरण हुन्छ। गर्नुपर्छ ।’

वामपन्थी दलहरूको गन्तव्य वैज्ञानिक समाजवादसम्मको हो। त्यसका लागि आ–आफ्ना नीति र कार्यक्रम छन्। र, उनीहरूबीच सामान्यबाहेक सैद्धान्तिक र वैचारिक मतभेद छैनन् । एमाले उपाध्यक्ष शाक्य र माओवादी स्थायी समिति सदस्य पोखरेलले भने जसरी आत्मालोचना भए वामपन्थी दलहरूबीच एकता हुँदै एकता पनि हुने चर्चा हुँदै आएको छ।

यसअघि अप्रत्याशित रूपमा १६ असोज २०७४ मा एमाले–माओवादीबीच चुनावी गठबन्धन बनेको थियो । गठबन्धनले त्यतिबेला १६५ मध्ये ११६ सिट जित्यो पनि। ३ फागुन २०७४ मा त ओली नेतृत्वमा सरकार पनि निर्माण भयो।

३ जेठ २०७५ मा भने एमाले–माओवादी एकता नै भयो। तर, ओली–प्रचण्डबीच शक्ति बाँडफाँटलाई लिएर उत्पन्न भएको मतभेद र यस घटनाका परिघटनाहरूले नेकपा विघटनसम्म पुग्यो। तर, अहिले निर्वाचनअघि फेरि वाम गठबन्धन र एकताको बहस घनीभूत भएको छ । एकताचाहिँ होला कि नहोला, अहिल्यै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्