उद्योगमा पौने २ खर्ब लगानी बढ्यो



काठमाडौं । उद्योग क्षेत्रमा पौने २ खर्ब रुपैयाँ लगानी बढेको छ। आर्थिक वर्ष २०७८/०७९ मा स्वदेशी तथा विदेशी लगानीमा रहेका उद्योगको लगानी १ खर्ब ८७ अर्ब रुपैयाँले लगानी स्वीकृत भएको हो।

उद्योग विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०७८/०७९ मा स्वदेशी तथा विदेशी लगानीका उद्योगमा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ५६ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको थियो।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार घरजग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्म स्थिर पुँजी भएको लघु उद्यम, परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योगमा वर्गीकरण गरिएको छ ।

त्यस्तै, १५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको साना, १५ करोडदेखि ५० करोड रुपैयाँसम्मको मझौला र ५० करोड रुपैयाँभन्दा माथि स्थिर पुँजी भएका ठूला उद्योगका रुपमा वर्गीकरण हुन्छ । अघिल्लो वर्ष कोभिड–१९ का कारण उद्योगमा लगानी कम भएको विभागले जनाएको छ। कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएपछि उद्योगमा लगानी र उद्योग दर्ता स्वदशी तथा विदेशी दुवै बढेको हो ।

यसैगरी विभागमा स्वदेशी तथा विदेशी गरी आर्थिक वर्ष २०७८/०७९ मा ३०९ वटा उद्योग दर्ता भएका छन् । जसमा ठूला उद्योग ९१ वटा दर्ता भएका छन् भने मझौता १०८ र साना उद्योग ११० वटा दर्ता भएको छन् । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा स्वदेशी तथा विदेशी गरी जम्मा २०३ वटा उद्योग दर्ता भएका थिए ।जसमध्ये ठूला उद्योग ४२ वटा, मझौला ४९ वटा र साना उद्योग ११२ वटा दर्ता भएका थिए ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा १०६ वटा उद्योग बढी दर्ता भएका छन्। विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी उत्पादनमूलक अन्तर्गत ७० वटा उद्योग दर्ता भएका छन् । यसैगरी पर्यटनमा ४० वटा, सेवामूलक ३३ वटा, ऊर्जामूलक उद्योग ३० वटा दर्ता भएका छन् । सबैभन्दा कम खनिजमा १ वटा उद्योग दर्ता भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ उत्पादन मूलकमा ११६ वटा, पर्यटनमा ५८ वटा, ऊर्जामूलकमा ५० र सेवामूलकमा ४६ वटा उद्योग दर्ता भएका छन्। खनिजअन्तर्गतका २ वटा उद्योग दर्ता भएका छन्।

विभागको तथ्याङ्कमा आर्थिक वर्ष २०७८/०७९ मा विदेशी लगानी ५४ अर्ब १५ करोड रुपैयाँको लगानी स्वीकृत भएको छ । आव २०७७/०७८ मा १८४ वटा उद्योग हुँदा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्