काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति भयो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरू ध्वस्त भए। नौ हजारभन्दा बढी मानिसको मृत्यु भएको भूकम्पपछि नेपालसामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो।
रातारात घरबारविहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारविहीन छन्। भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरू भग्नावशेषको रुपमा रहेका छन्।
राजनीतिक खिचातानिका बीचमै कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन व्यतित गरिरहेका छन्। सांस्कृतिक सम्पदाको हविगत पनि त्योभन्दा फरक छैन। भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ। यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन।
यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ। तर कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जीर्ण छन्। कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन्। २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए।
केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिएपनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ। यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो। जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो।