गोदावरी–फूलचोकीमा ३५९ थरी पक्षी



काठमाडौं । ललितपुरको गोदावरी–फूलचोकीमा ३५९ प्रजातिका पक्षी अभिलेख भएका छन्। वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन)को अध्ययनअनुसार पक्षीका धेरै प्रजाति सो भेगमा पाइएका छन् ।

नेपालका विभिन्न ३७ महत्वपूर्ण चरा र जैविक विविधता क्षेत्रमध्येको एक गोदावरी–फूलचोकीमा पाइने पक्षीबारेको अद्यावधिक विवरण शनिबार सार्वजनिक गरिएको हो । गत वर्षको सर्वेक्षणमा यस भेगमा ३५७ पक्षीका प्रजाति पाइएकामा यस पटक सङ्ख्या बढेर ३५९ पुगेको हो। बीसीएनका अध्यक्ष करणबहादुर शाहले संरक्षणकर्मीमाझ अद्यावधिक विवरणसहितको पुस्तक सार्वजनिक गरे।

गोदावरी–फूलचोकीमा ४२ प्रजाति बसाइँ सराइ गर्ने, १५२ स्थानीय, ग्रिष्मकालीन आगन्तुक ४० प्रजाति, हिउँद यामका आगन्तुक ७२ थरी छन्। त्यसैगरी फिरन्ते (निश्चित बासस्थान नभएका) २५ प्रजाति र थप १८ थरी पाहुना सूचीमा रहे पनि हिउँदे र ग्रिष्मकालीन पहिचान हुन सकेका छैनन्। नेपालका सीमित क्षेत्रमा मात्र पाइने भनेर अभिलेख भएका नेपाल ढिकुरे भ्याकुर, काँडे भ्याकुर, वन चाचर र चस्मे चरीको विचरण क्षेत्र गोदावरी र आसपासको भेग रहेको पक्षीविद् बताउँछन्।

राष्ट्रियस्तरमा खतराको सूचीमा रहेका ३० प्रजाति विश्वस्तरमा लोपोन्मुख रहेका वन चाहा, डङ्गर गिद्ध, लघु महाचिलसहित नेपालका ९ वटा संरक्षित पक्षीमध्ये मुनाल पनि शिवपुरी–गोदावरीमा पाइन्छन् । नेपालका मध्यपहाडी भेगमा पाइने अधिकांश चराहरू गोदावरी–फूलचोकी क्षेत्रमा अभिलेख भएका पक्षीविद् कृष्णप्रसाद भुसालले जानकारी दिए ।

‘विश्वमै दुर्लभ सूचीमा रहेका पक्षीहरूको बासस्थान र पक्षीका धेरै प्रजाति यहाँ पाइने भएकाले जैविक विविधता र वातावरणीय दृष्टिकोणले फूलचोकी धेरै महŒवपूर्ण क्षेत्र हो’, भुसालले भने । उनका अनुसार नेपाल आउने विदेशी संरक्षणकर्मी र चरा अवलोकनकर्ताको रोजाइमा फूलचोकी पर्ने गर्छ। गोदावरीपछि पक्षीका लागि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज उत्कृष्ट गन्तव्य मानिन्छ।

बीसीएनलगायतका संस्थाको अध्ययनले शिवपुरी–नागार्जुनमा ३२० हाराहारी प्रजातिका मात्र चरा अभिलेख भएकामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथ्याङ्क अद्यावधिक गर्न जुटेको छ। २ हजार ७६१ मिटर अग्लो फूलचोकी उपत्यकाकै अग्लो क्षेत्र हो । २५० भन्दा बढी प्रजातिका पुतली पाइने यो भेग चरा र जैविक विविधताका लागि निकै महत्वपूर्ण क्षेत्र मानिन्छ ।

पक्षीको अध्ययन, अनुसन्धानमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था बर्ड लाइफ इन्टरनेसनल र बीसीएनले एक दशक अगावै फूलचोकी र आसपासलाई चरा र जैविक विविधताको महत्वपूर्ण क्षेत्र ठहर गरेका थिए ।

विभिन्न चरणमा भएका अध्ययन र विज्ञहरूको सुझावअनुसार सरकारले गत महिना गोदावरी, काभ्रे पलाञ्चोक, फूलचोकी र आसपासका भेग समेटेर गोदावरी–फूलोचोकी वन संरक्षण क्षेत्र घोषणा गरेको छ । राष्ट्रिय वन, सामुदायिक वनको ५० दशमलब ५३ हेक्टर क्षेत्रलाई ‘संरक्षित क्षेत्र’ तोकिएको छ ।

संरक्षित क्षेत्र घोषणा भएसँगै होटल, रेस्टुरेन्ट, केवलकार, भ्यु टावरलगायतका संरचनाको गृहकार्य थालिएकाले भविष्यमा पक्षी, पुतली र अन्य जीवजन्तुको प्राकृतिक बासस्थान खलबलिन सक्ने बीसीएनका अध्यक्ष शाहको ठहर छ।

‘गोदावरी–फूलचोकीमा पक्षीको सङ्ख्या राम्रो छ भन्दै गर्दा तत्कालको लाभ र व्यापारिक पक्षलाई मात्र ध्यान दिएर भौतिक संरचना निर्माण गरियो भने लापोन्मुख पक्षी जोगाउन सकिँदैन, अन्य पक्षीको अस्तित्व पनि खतरामा पर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्