फुटबल हेर्दा पनि स्वास्थ्यमा फाइदा



काठमाडौं : फुटबल, धेरैलाई थाहा भएको र विश्वचर्चित खेल हो। दैनिक फुटबल खेलेमा यसले शरीरको व्यायाम समेत हुन गइ मान्छे स्वस्थ हुन्छ। तर, फुटबल खेलेर मात्र नभइ हेरेर मात्र पनि आफूलाई स्वस्थ राख्न सकिन्छ।

सुन्दाखेरि अनौँठो लाग्ला तर, फुटबल हेर्दा मात्र पनि मानिसको शरीर स्वस्थ हुने पुष्टि भएको छ। धेरै समयको अनुसन्धानपछि वैज्ञानिकहरूले फुटबल हेर्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुने निष्कर्ष निकालेका हुन्।

बेलायतको लिड्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले त्यहाँको शहरको फुटबल टिमका २५ जना प्रशंसकलाई तीनवटा च्याम्पियनसीप खेलका क्रममा विश्लेषण गरेका हुन्। एउटा स्वस्थ मानिसको मुटुको सामान्य चाल ६० देखि १०० प्रतिमिनेट हुन्छ। शारीरिक व्यायाम तथा शरीरमा बल पर्ने काम हुँदा मुटुको चाल बढ्न जान्छ।

अनुसन्धानकर्ताले आफ्नो मनपर्ने फुटबल टिमको गेम हुँदा हेर्ने समर्थकहरूको मुटुको चाल लगभग ६४ प्रतिशतले बढेर १३० प्रतिमिनेट पुगेको पाएका थिए। वैज्ञानिकहरूले मुटुको चाल १३० प्रतिमिनेट भनेको आधी घण्टासम्म छिटो–छिटो गरी हिँड्दा हुने मुटुको चाल बराबर हो भनेर दाबी गरेका छन्।

अझ आफ्नो मनपरेको फुटबल क्लबले जित्दा प्रशंसकहरूको रक्तचाप समेत घट्नुका साथै मनोवैज्ञानिक सहायता पनि पुग्ने गरेको देखिएको छ। तर, आफूलाई मनपरेको क्लबले हार्दा यसको ठीक विपरीत असर परेको देखियो। अनुसन्धानमा मनपरेको क्लबले हर्दा समर्थकहरूलाई आफ्नो साथी मरेको जस्तो अनुभव हुने समेत देखिएको थियो।

यसका साथै दुवै टिमले गोल गर्दा मुटुको चाल बढ्ने गरेको पाइएको छ। फुटबल खेल हेरेर आफ्नो टिमलाई समर्थन गर्दा खेलको अवधिमा उनीहरूको मुटुको चाल छिटो हिँडिरहेको व्यक्तिको चाल बराबर हुने भएकोले मुटुको व्यायाम हुने र खेलको परिणामका आधारमा मनोवैज्ञानिक लाभ वा हानी दुवै हुन सक्ने अनुसन्धानकी नेत्तृवकर्ता डा. एन्ड्रीया अट्लीले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्