जनकपुरमा पनि प्रधानमन्त्रीको पुत्ला दहन, नेविसंघका ६ कार्यकर्ता पक्राउ



जनकपुरधाम : जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने नेविसंघका ६ जना कार्यकर्तालाई प्रहरीले केहिबेर पक्राउ गरि छाडेको छ । सोमबार नेविसंघले प्रम ओलीको पुत्ला दहन गर्न चाहने आधा दर्जनलाई प्रहरीले नियन्त्रणमा लिई रिहा गरेको हो । 

नेविसंघले देशव्यापी घोषणा गरेको कार्यक्रमअनुसार रामानन्द चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो । पुत्ला दहन कार्यक्रमलाई नियन्त्रणमा लिनका लागि व्यापकरुपमा प्रहरी परिचालन गरिएको थियो ।

त्यसलगत्तै प्रहरीले आधा दर्जनको हाराहारीमा नेविसंघ कार्यकर्ता पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा ल्याई छोडिदिएको छ ।

पक्राउ परी रिहा हुनेमा नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्र, नवनित झा, नविन यादव, घनश्याम झा, सुनिल सुमन, भरत साहसहित ६ जनालाई पक्राउ गरि तत्कालै जिप्रका धनुषामा रिहा गरिसकेको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

काभ्रे जिल्ला नेविसंघका अध्यक्षले कुकुर पुजाको दिन समाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको विरोधमा कुकुरसँग जोडेर पोष्ट गरेको तस्विर र स्टाटसका कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही विरोधमा आज धनुषा नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्