योनि र पाठेघरको मुखको क्यान्सरबाट बच्न किशोरीलाई एचपीभी खोप



चितवन । भरतपुर महानगरपालिकाले योनि र पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि किशोरीलाई मङ्गलबारदेखि एचपीभी खोप लगाउन सुरु गरेको छ । महानगरले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरेको जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ।

महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर उक्त किशोरीहरुलाई उक्त खोप लगाउन सुरु गरेको छ । खोप कार्यक्रम सुरुवात वडा नं ७ बाट गरिएको छ । यो खोप क्यान्सर अस्पतालमै लगाइनेछ।

उक्त खोप पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई लगाइने क्यान्सर अस्पतालले जनाएको छ । अस्पतालले १२ हजार खोप ल्याएको जनाएको छ । वडा नं ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीलाई अभियानका रुपमा लगाइने अस्पतालले जनाएको छ। साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ।

क्यान्सर अस्पतालले जिल्लाका ११ देखि १३ वर्ष उमेर समूहका ६ हजार किशोरीलाई यो खोप लगाउँदैछ। १ जनालाई छ महिनाको फरकमा २ पटक खोप दिइन्छ।

यो एचभीपी खोप लगाएपछि भाइरसको संक्रमणबाट बचाउँछ। यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई योनिको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ।

कसैकसैलाई यो खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, एलर्जी हुने लक्षण देखा परेपनि विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै साइड इफेक्ट छैन।

धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटकपटक गर्भपतन गराएमा, धुमपान गरेमा, लामो समयसम्म हर्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने विज्ञले बताएका छन् ।

एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचभीपी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष ३ लाख महिलाको ज्यान जाने गरेको छ।

प्रतिक्रिया दिनुहोस्