रवि लामिछानेकी पत्नी निकिताले दिइन् किशोर श्रेष्ठ सहित तीन जनाविरूद्ध जाहेरी



काठमाडौँ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी  पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छिन् । निकिता पौडेलले पुडासैनीको भिडिओ किर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन् ।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक सङ्केत कोइराला विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा बुधवार जाहेरी दिएकी हुन् ।

जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठ प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष समेत हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गरेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटेल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस्