पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा ईश्वरलाई



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य परिक्षणका क्रममा उनी बढीमा १५ दिनसम्म सिंगापुर बस्ने भएका छन् । आज अपरान्ह १.३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्य सहित सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गरेका हुन् । 

अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो  ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती गर्दै अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको जनाएकी छन् । 

 ‘एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन  उहाँ  फेरि त्यसतर्फ जान लाग्नु भएको हो’ डा.सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मृर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गरिनेछ । 

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले जनाएकी छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनिय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं” विज्ञप्तीमा उल्लेख छ । 

कार्यवाहक पार्टीमा दाहाल र सरकारमा पोखरेल

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष समेत रहेका ओली सिंगापुर स्वास्थ्य उपचारका लागि गएपछि पार्टीमा कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहालले पाएका छन् । 

आजै बिहान बसेको सचिवालय बैठकमै अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्ष दाहाललाई दिँदै पार्टी एकताको बाँकी कामसहित अन्य काम सहमतीमा गर्न जिम्मेवारी दिए । 

यस्तै प्रधानमन्त्री समेत रहेका ओलीले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेललाई दिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीका अनुपस्थितिमा उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेएकी हुन् । 

 

प्रतिक्रिया दिनुहोस्